ल्याटिन अमेरिकी मुलुक ब्राजिलमा मृतक संख्याका आधारमा धेरै नागरिक गुमाउनेमा ब्राजिल विश्वको दोश्रो मुलुक हो। यस्तै संक्रमित संख्यामा भने अमेरिका र भारपछि तेश्रो नम्बरमा पर्छ।
संक्रमित संख्या ब्राजिलमा यसै साताको सुरूवातमा ५० लाख नाघेको थियो। कोरोनाका कारण ज्यान गुमाउनेको संख्या डेढ लाख नाघेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ।राष्ट्रपति जाइर बोल्सनारूमाथि संक्रमण नियन्त्रणमा प्रभावकारी कदम नचालेको आरोप लाग्दै आएको छ। उनीमाथि विज्ञहरूको सल्लाह नमानेको आरोप छ।
उनले कोरोनालाई ‘सानो फ्लु’को संज्ञा दिएका थिए। पछि उनी आफैं भाइरसबाट संक्रमित हुन पुगेका थिए। ब्राजिल ल्यानटिन अमेरिकाको सबैभन्दा धेरै कोरोना प्रभावित मुलुक हो। त्यहाँको साओ पाओलो राज्य संक्रमणबाट सबैभन्दा धेरै प्रभावित छ।
ब्राजिलको स्वास्थ्य मन्त्रालयका अनुसार ब्राजिलमा हाल सम्म कोरोनाका कारण १ लाख ५० हजार १ सय ९८ जनाको मृत्यु भएको छ। यस्तै संक्रमित संख्या ५० लाख ८२ हजार ६ सय ३७ छ।
यध्यपी गर्मी मौसम सुरू भएयता त्यहाँ संक्रमण घट्न थालेको छ जबकी त्यहाँ दुई महिना लगातार प्रतिदिन हजारको हाराहारीमा मानिसले ज्यान गुमाएका थियो।