एजेन्सी– लियोनल मेस्सीको गोलको सहयोगमा अर्जेन्टिनाले विश्वकप छनोटमा जित निकालेको छ । शुक्रबार बिहान भएको विश्वकप फुटबलको दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले इक्वेडरलाई १–० ले हराएको हो ।अर्जेन्टिनाको जितमा एक मात्र गोल लियोनल मेस्सीले गरे । खेलको १३ औं मिनेटमा पेनाल्टीमा गोल गर्दै मेस्सीले अर्जेन्टिनालाई जित दिलाएका हुन् ।
विश्वकप छनोट अन्तर्गत अर्जेन्टिनाले विजयी सुरुवात गरेको छ । उसले पहिलो खेलमा जित निकाल्दै तालिकामा तीन अंक जोडेको छ । अर्जेन्टिनाले अब ५ दिनपछि बोलिभियाको भ्रमण गर्नेछ । सोही दिन इक्वेडरले उरुग्वेसंग प्रतिस्पर्धा गर्नेछ ।
सन् २०१८ को विश्वकपका लागि अर्जेन्टिना तेस्रो स्थानमा रहदै छनोट भएको थियो । अर्जेन्टिना भन्दा अघि ब्राजिल र उरुग्वे रहेका थिए ।