पुन छलफलमा जुटे ओली र प्रचण्ड

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड)बीच बालुवाटारमा नियमित छलफल शुरु भएको छ ।

पार्टीको आगामी सचिवालय बैठकका एजेन्डाका बारे छलफल गर्न अध्यक्ष प्रचण्ड प्रधानमन्त्री ओलीको सरकारी निवास बालुवाटार पुगेका हुन् ।

दुई नेताबीच मन्त्रिपरिषद पुनर्गठनका अतिरिक्त पार्टीको आगामी सचिवालय बैठकका एजेन्डा, पार्टीको सांगठनिक एकीकरण लगायतका विषयमा छलफल हुने जनाइएको छ ।

यस्तै, राजनीतिक तथा संवैधानिक नियुक्तिका सवालमा निर्धारण गरिने मापदण्डका विषयमा पनि दुई नेताबीच छलफल हुने जनाइएको छ ।

अध्यक्ष एवम् प्रधानमन्त्री ओली र अर्का अध्यक्ष प्रचण्डबीच पछिल्लो समय मन्त्रिपरिषद पुनर्गठनको विषयलाई लिएर नियमितजसो छलफल भइरहेको छ ।

तर, दुवै नेता मन्त्रिपरिषद पुनर्गठनका विषयमा सहमतिमा भने पुगिसकेका छैनन् । ओली र प्रचण्डबीच सहमति जुट्न नसक्दा मन्त्रिपरिषद पुनर्गठन दशैं पछि मात्रै हुने सम्भावना बढेको छ ।