नेकपाका प्रवक्ता श्रेष्ठलाई भट्टराईले दिए यस्ताे चेतावनी

पूर्व प्रधानमन्त्री एवं जनता समाजबादी पार्टीका नेता डा.बाबुराम भट्टराईले ठूला भ्रष्टाचार काण्डको छानविन र दण्ड सजाय गर्न अधिकारसम्पन्न जनलोकपाल गठन गर्न आग्रह गर्नुभएको छ ।

नेता डा.भट्टराईले बुधबार (आज) साँझ आफ्नो फेसबुक पेजमार्फत् बुढीगण्डकी, एनसेल, वाइडबडी, सुरक्षा प्रिन्टिंग, यती, ओम्नीलगायतका सबै काण्डहरुको छानविन र दण्ड सजाय गर्न अधिकारसम्पन्न जनलोकपाल गठन गर्न आग्रह गर्नुभएको हो ।

उहाँले भन्नुभएको छ, ‘बुढीगण्डकी, एनसेल, वाइडबडी, सुरक्षा प्रिन्टिंग, यती, ओम्नीलगायत सबै ठूला भ्रष्टाचार काण्डको छानबिन र दण्डसजाय गर्न अधिकारसम्पन्न जनलोकपाल गठन गरौं । सबै उच्च पदासीनहरूको सम्पत्ति छानबिन गरौ । म पूर्ण सहयोग गर्न र दोषी ठहरे दण्डित हुन तयार छु ।’

यसका साथै, उहाँले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठलाई सत्ताको तुजुक नदेखाउन चेतावनी पनि दिनुभएको छ । उहाँले थप लेख्नुभएको छ, ‘जस्केलाबाट छिर्नेहरूले सत्ताको तुजुक नदेखाऊ !’

त्यसोत, नेता डा.भट्टराईले केही दिन अगाडि मात्रै आफ्नो गृहजिल्ला गोरखामा आयोजित एक कार्यक्रममा बुढीगण्डकी जलबिद्युत आयोजनामा बाहालवाला प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाको कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवालगायतले ९ अर्ब भ्रष्टाचार गरेको आरोप लगाउदै आफूसँग प्रमाण भएको बताउनुभएको थियो ।

डा.भट्टराईको सोही अभिब्यक्तिलाई लिएर नेकपाका प्रवक्ता नारायाणकाजी श्रेष्ठले विज्ञप्ती जारी गर्दै बूढीगण्डकी आयोजनामा ९ अर्ब भ्रष्टाचार गरेको आरोप गलत भएको बताउँदै प्रमाण पेस गर्न चुनौती दिनुभएको थियो ।