सिरानचोक गाउँपालिकामा रहेका अधिकांश पसलहरु विना दर्ता संचालनमा रहेको पाइएको छ । गण्डकी प्रदेश जिल्ला स्तरीय अनुगमन समितिले मंगलबार बजार अनुगमन गर्दा अधिकांश पसल दर्ता विना संचालनमा रहेको पाइएको हो । समितिले गाउँपालिकाको खहरे बजार देखि चोरकाटे सम्म रहेका किराना, कस्मेटिक, हार्डवयर, होटलहरुको अनुगमन गरेको हो ।
‘करिब २५ भन्दा बढी पसलको अनुगमन ग¥यौ,’ अनुगमन समितिका संयोजक घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख दिनेश पौडलले भने, ‘धेरै पसलहरु दर्ता भएको पाइएन ।’ केहीले मूल्य सूची समेत नराखेको उनले बताए ।
‘सिरानचोकमा यो हाम्रो पहिलो पटकको अनुगमन हो, गाउँपालिकामा दर्ता गरेपनि अधिकांशले घरेलु कार्यालयमा दर्ता गर्नुपर्छ भन्ने थाहा नभएको बताउनुभयो,’ उनले भने । पहिलो चरणको अनुगमन भएकाले पसल दर्ता गर्न र मुल्य सूचि राख्न निर्देशन दिएको उनले बताए ।
अर्काे पटकको अनुगमनमा यस्तो पाइएमा आवश्यक कारवाही गरिने उनले जानकारी दिए ।
केही पसलबाट म्यान नाघेका सामानहरु भेटिएको र उक्त सामान नष्ट गर्न निर्देशन दिइएको उनको भनाइ छ । अनुगमनमा घरेलु कार्यालय प्रमुख पौडेल, जिल्ला समन्वय समितिका सभापति अशोक कुमार गुरुङ, सिरानचोक गाउँपालिकाका कर्मचारी, जनप्रतिनिधी उद्योगा वाणिज्य संघ सिरानचोक इकाई, सुरक्षाकर्मी, पत्रकार लगायतको सहभागिता रहेको थियो ।