आइपिएलमा शुक्रबार मुम्बई इन्डियन्स र कोलकता नाइट राइडर्सबीच खेल

आइपिएल क्रिकेटमा किंग्स-११ पञ्जावले रोयल च्यालेन्जर्स बेंग्लोरलाई ८ विकेटले पराजित गरेको छ। बिहीबार राति शारजाहमा भएको खेलमा बेंग्लोरले दिएको १७२ रनको लक्ष्य पञ्जावले अन्तिम बलमा पूरा गर्‍यो।

पञ्जावका लागि ओपनर तथा कप्तान केएल राहुलले नटआउट ६१ रन जोडे। यस्तै सिजनमा पहिलो पटक मैदान उत्रिएका क्रिस गेलले रनआउट हुनुअघि ५३ रन जोडे। उनी अन्तिम ओभरको पाँचौ बलमा आउट भए।

राहुलले ४९ बलमा १ चौका र ५ छक्का हिर्काउँदा गेलले ४५ बलमा १ चौका र ५ छक्का नै प्रहार गरे।ओपनिङ ब्याट्सम्यान मयंक अग्रवालले ४५ रनको योगदान दिए।

त्यसअघि बेंग्लोरले टस जितेर पहिले ब्याटिङ गर्दै २० ओभरमा ६ विकेटको क्षतिमा १७१ रन जोड्यो। उसका लागि कप्तान विराट कोहलीले ४८ रन जोडे। त्यसअघि ओपनरद्वय आरोन फिन्चले २० र देवदुत पडिकलले १८ रन बटुले।

क्रिस मोरिसले नटआउट २५ रनको योगदान दिए। उनले ८ बलमा १ चौका र ३ छक्का हिर्काए। बलिङमा पञ्जावका मोहमद सामी र मुरुगन आस्विनले २-२ विकेट लिए।

हारसँगै बेंग्लोरले अंक तालिकाको शीर्ष स्थानमा पुग्ने मौका गुमाएको छ। अंक तालिकाको तेस्रो स्थानमा रहेको बेंग्लोरको ८ खेलबाट १० अंक छ। पुछारको पञ्जावले ४ अंक मात्र बटुलेको छ। आइपिएलमा शुक्रबार मुम्बई इन्डियन्स र कोलकता नाइट राइडर्सबीच खेल हुनेछ।