चिनियाँ कम्युनिष्ट कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहाल

पूर्वप्रधानमन्त्री एवं सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले शान्ति, स्थायित्व र विकासका लागि चीनले अघि सारेको बिआरआई परियोजना महत्वपूर्ण हुने बताएका छन्।मंगलबार चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागले आयोजना गरेको भर्चुअल कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले शान्ति, स्थायित्व र विकासका लागि बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई) परियोजना महत्वपूर्ण हुने बताएका हुन्।

बिआरआई परियोजनाबाट चीन र नेपाल दुवै देशले फाइदा लिन सक्ने भएकाले यसलाई आफूले महत्वपूर्ण अवसरको रूपमा लिएको समेत अध्यक्ष प्रचण्डले बताए।

यस्तै, गत वर्ष चिनियाँ राष्ट्रपति सि चिनफिङको नेपाल भ्रमणमा भएका सम्झौताले पनि दुई देशको भावनालाई समेटेको उनले बताए।पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले बिआरआईले यस क्षेत्रको नविनता, उत्पादकत्व र प्रगतिका लागि महत्वपूर्ण हुने बताए।

बिआरआई परियोजनाले दुई देशबीच वित्तीय एकीकरण र नीति समन्वयका लागि काम गर्ने विश्वास समेत व्यक्त गरे।

त्यस्तै, बिआरआईले नेपाललाई विश्वव्यापी मूल्य श्रृंखलामा पहुँच पुर्‍याउन सघाउ पुग्ने समेत पूर्वप्रधानमन्त्री भट्टराईले बताए।
बिआरआईका ९ वटा आयोजना अन्तर्गत ट्रान्स–हिमालयन कनेक्टिभिटिले नेपाली नागरिकलाई सबैभन्दा बढी आकर्षित गरेको समेत उनले बताए।

यसले नेपालको भूराजनीतिक परिवर्तनमा महत्वपूर्ण हुने पनि उनले बताए।राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपालले बेल्ट एण्ड रोड परियोजना अन्तर्गत छनोट गरेका ९ वटा आयोजनालाई छिट्टै अन्तिम रूप दिएर कार्यान्वयनमा जानुपर्ने बताए।

यस्तै, नेपालले अघि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ अभियानलाई सार्थक बनाउन समेत बिआरआई परियोजना महत्वपूर्ण हुने उनले बताए।

कार्यक्रममा चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभाग मन्त्री सोङ ताओ, चिनियाँ कम्युनिष्ट पार्टी तिब्त कमिटीका सेक्रेटरी वु यिंगजी लगायतले सम्बोधन गरेका थिए।

चिनियाँ राष्ट्रपति सि चिनफिङको नेपाल भ्रमणको वार्षिकोत्सवको अवसर पारेर चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागले ‘चीन–नेपाल बेल्ट एन्ड रोड को–अपरेसनमा राजनीतिक दलहरूको प्रथम संयुक्त परामर्श सम्मेलन’ आयोजना गरेको हो।