नेपालका अधिकांश क्षेत्रीहरु खस

२०७८ सालमा हुने राष्ट्रिय जनगणनामा खस क्षेत्रीहरुले पहिलो पटक धर्मको महलमा ‘मस्ट’ र जातिको महलमा ‘खस’ लेख्ने भएका छन् ।
मुख्यतः आफूलाई खस बताउनेहरुले धर्ममा मस्ट र जातिमा खस लेख्ने तयारी गरेका हुन् । खस क्षेत्री एकता समाजका संस्थापक अध्यक्ष तथा सल्लाहकार युवराज कार्कीले धर्मको महलमा मस्ट र जातिमा खस लेख्न लेखाउन आव्हान समेत गरेका छन् ।

‘धर्मको महलमा मस्ट र जातिको महलमा खस लेख्नका लागि हामीले आव्हान गरेका छौ,’ जनता समाजवादी पार्टीका नेता समेत रहेका कार्कीले भने, ‘कोरोना महामारीका कारण अहिले गाउँगाउँमा गएर अभियान चलाउन सकिएको छैन ।’

नेपालका अधिकांश क्षेत्रीहरु खस रहेको उनले दाबी गरे । पछिल्लो जनगणना अनुसार नेपालमा क्षेत्रीहरुको जनसंख्या १६ प्रतिशत छ । ठकुरी र पश्चिमका केही दलितहरुले पनि आफूलाई खस बताउने गरेको कार्कीले बताए ।

आफूलाई खस सम्झने दलितहरुले पनि मस्ट पुजा गर्ने उनको भनाइ छ । उनले खसहरु हिन्दु नभएको बताए । छैटौ शताब्दीमा नै खसहरु कोही बुद्धिष्ट भएको र पछि हिन्दु भएको उनले बताए । ‘अहिले पनि खसहरु धार्मिक रुपमा कट्टर छैनन्,’ उनले भने, ‘सबै धर्मप्रति उनीहरुको समभाव रहेको छ ।’