दसैंको बेला फलफूलजन्य वस्तुहरूको बजार महँगो भएको छ। अन्य समयमा एक सय रुपैयाँ प्रतिकिलो पाउने स्याउको मूल्य अहिले दुई सय रुपैयाँसम्म पर्ने गरेको छ। अझ पसलैपिच्छे फलफूलको भाउ फरक पर्दा उपभोक्ता मारमा परेका छन्। चाडपर्वको बेला फलफूल, मिठाइ, माछामासु लगायतको खपत बढी हुन्छ। त्यसैले, यो समयमा त्यस्ता वस्तुहरुरूको मूल्य बजारैपिच्छे फरक पर्ने गरेको देखिन्छ।
फलफूल चाडपर्वको बेलामा समान्यतया धेरै बिक्री हुने वस्तु हो।
फलफूल बजारको अवस्था बुझ्न काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा पुग्दा मूल्यमा एकरुपता पाउन सकिएन। एउटै जातको एक किलो स्याउको मूल्य एक सय ६० रुपैयाँ देखि २ सय रुपैयाँसम्म परेको पाइएको छ। बजारमा भेटिएका उपभोक्ताहरू पनि मूल्यमा फरक पर्दा मार परेको गुनासो गरेका छन्। नयाँ बानेश्वर क्षेत्रमा भेटिएका उपभोक्ता ऋषिकेश पोखरलले सरकारले आफ्नो उपस्थिति बजारमा नदेखाउँदा पसलैपिच्छे मूल्यमा फरक परेको बताए। चाडपर्वको समयमा पनि सरकारले बजार अनुगमन नगरिदिँदा महँगो मूल्य तिरेर फलफूल उपभोग गर्न बाध्य भएको उनले बताए।
व्यापारीहरूले भने थोक (होलसेल) व्यापारीहरूका कारण खुद्रा बजारमा पसलैपिच्छे मूल्यमा फरक पर्ने गरेको बताएका छन्।
आफूहरूले मूल्य बढाएको भन्दा पनि होलसेल पसलले नै मूल्यमा एकरुपता कायम नगरिदिँदा बजारमा पसलैपिच्छे फरक मूल्य देखिएको व्यापारीको भनाइ छ।
नयाँ बानेश्वर क्षेत्रमा फलफूल व्यापार गर्दै आएका पुजनकुमार शाहले भाउमा एकरुपता नहुनाको कारण होलसेल बिक्रेताहरू नै रहेको बताए।
होलसेल पसलमा नै एउटै जातको स्याउ प्रतिपेटी १ हजार रुपैयाँ देखि १ हजार २ सय रुपैयाँसम्म पर्ने भएकाले भाउमा फरक परेको उनले बताए।
यस्तै, गत वर्षको तुलनामा यस वर्ष फलफूलको मूल्य झण्डै दोब्बर रहेको पनि उनले बताए। कालीमाटी फलफूल तथा तरकारी बाजार विकास समितिले आइतबारका लागि प्रतिकेजी स्याउको मूल्य औषतमा २ सय ४५ रुपैयाँ देखि ३ सय १० रुपैयाँ तोकेको छ। त्यस्तै, केरा प्रति दर्जन औषतमा ८५ रुपैयाँ र सुन्तला प्रति केजी ४८ रुपैयाँ थोक मूल्य तोकेको छ।
भारतीय सुन्तला भने प्रतिकेजी १ सय ५ रुपैयाँ रहेको छ। त्यस्तै, अनार ३ सय १० रुपैयाँ प्रतिकेजी रहेको छ।