प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग सम्बन्ध बिग्रिँदै गएसँगै वरिष्ठ नेता माधव नेपालसँग सहकार्यको प्रयास गरेका छन्।प्रधानमन्त्री ओलीले वरिष्ठ नेता नेपालसँग मंगलबार साढे २ घन्टा ‘वान टु वान’ छलफल गरेका श्रोतले बताएको छ।
गत कात्तिक ४ गते पनि प्रधानमन्त्री ओलीले वरिष्ठ नेता नेपालसँग बालुवाटारमा छलफल गरेका थिए।त्यसअघि दुई नेताबीच साउन ९ गते मात्रै एक्लाएक्लै कुराकानी भएको थियो।भेटमा प्रधानमन्त्री ओलीले सहकार्यका लागि प्रस्ताव गरेको तर ठोस प्रगति केही हुन नसकेको श्रोतले सेतोपाटीलाई जानकारी दिएको छ।
‘एउटासँग सम्बन्ध बिग्रिएपछि अर्कोसँग नजिक हुने प्रधानमन्त्रीको स्वभाव हो। उहाँले सहकार्यका लागि भनेर यस्ता प्रस्ताव विगतदेखि नैा राख्नुभएको हो,’ वरिष्ठ नेता नेपालनिकट एक नेताले सेतोपाटीसँग भने, ‘माधव कमरडेले विधि र पद्धतिका कुरा सधैं भन्नुहुन्छ जुन प्रधानमन्त्रीले लागू गर्नु हुँदैन। त्यसैले नयाँ कुरा केही भएजस्तो लाग्दैन। केही भएको भए थाहा हुन्थ्यो।’कर्णाली प्रदेशमा देखिएको विवाद समाधान गर्ने विषयमा अर्का अध्यक्ष प्रचण्डसँग असहमति बढेसँगै प्रधानमन्त्री ओलीले नेपालसँग भेट सुरू गरेका हुन्।
प्रधानमन्त्री ओली र प्रचण्डबीच कात्तिक ३ गतेयता भेट भएको छैन। श्रोतका अनुसार ओलीले भेटका लागि बोलाएका भए पनि प्रचण्ड बालुवाटार गएका छैनन्। प्रचण्डसँग सहमति प्रयासका लागि ओलीले अर्थमन्त्री समेत रहेका महासचिव विष्णु पौडेललाई खुमलटार पठाएका थिए। त्यस्तै संसदीय दलका उपनेता एवम् स्थायी कमिटी सदस्य सुवास नेम्वाङ पनि बुधबारै खुमलटार पुगेका थिए।