स्पेनिस ला लिगामा बार्सिलोना लगातार चार खेलमा जित निकाल्न असफल भएको छ।शनिबार भएको खेलमा बार्सिलोना १० खेलाडीमा सीमित डेपोर्टिवो अलावेससँग १-१ गोलको बराबरीमा रोकियो।
खेलको ३१ मिनेटमा अलावेसका लागि रिओजाले गोल गरेका थिए। ६२ मिनेटमा अलावेस १० खेलाडीमा सीमित बन्यो। जोटाले दोस्रो पहेँलो पाउँदा मैदान छाड्न बाध्य भएका थिए बार्सिलोनाले ६३ मिनेटमा बराबरी गोल फर्कायो। बार्सिलोनाका लागि एन्टोनी ग्रिजम्यानले बराबरी गोल गरे।
ला लिगामा बार्सिलोनाको यो सन् २००२-२००३ को सिजन यताकै खराब सुरुवात हो। अंक तालिकाको १२औं स्थानमा रहेको बार्सिलोनाले ६ खेलबाट ८ अंक जोडेको छ।
पछिल्ला चार खेलमा बार्सिलोनाले जित निकाल्न सकेको छैन। शनिबार अलावेससँग १-१ गोलको बराबरीमा रोकिएको बार्सिलोना २४ अक्टोबरमा भएको एल क्लासिको भिडन्तमा पराजित भएको थियो।
सिजनको पहिलो एल क्लासिकोमा रियल म्याड्रिडले बार्सिलोनालाई ३-१ गोलले पराजित गरेको थियो। त्यसअघि बार्सिलोना गेटाफेसँग १-० ले पराजित हुँदा सेभियासँग १-१ गोलको बराबरीमा रोकिएको थियो।
बार्सिलोनाले ला लिगमा पछिल्लो जित १ अक्टोबरमा सेल्टा भिगोविरुद्ध हात पारेको थियो। त्यति बेला बार्सिलोना ३-० ले विजयी भएको थियो।
सिजनको पहिलो खेलमा भने बार्सिलोनाले भिल्लारियललाई ४-० ले हराएको थियो।
सुरुवाती दुई खेलमा जित निकालेपछि बार्सिलोनाले खेलेका चार मध्ये दुई खेलमा हार र दुई खेलमा बराबरी नतिजा निकालेको छ।