लिग चरणको अन्तिम खेलमा चेन्नई सुपरकिंग्ससँग पञ्जाव पराजित

लिग चरणको अन्तिम खेलमा चेन्नई सुपरकिंग्ससँग पराजित भएसँगै किंग्स-११ पञ्जाव आइपिएल २०२० बाट बाहिरिएको छ। आइतबार साँझ भएको प्रतिस्पर्धामा पञ्जावलाई यसअघि नै बाहिरिएको चेन्नईले ९ विकेटको फराकिलो अन्तरले पराजित गर्‍यो। यो दुवै टिमका लागि सिजनको अन्तिम खेल बन्यो।

पाँचौ स्थानको पञ्जावले १४ खेलबाट १२ अंक जोड्यो भने पुछारको स्थान छाडेको चेन्नईले पनि १२ अंक नै जोड्यो। अन्तिम स्थानमा १२ अंक जोडेको कोलकता नाइटराइडर्स छ। कोलकताले केहिबेरमा १२ अंक नै जोडेर छैटौ स्थानमा रहेको राजस्थान रोयल्ससँग खेल्नेछ। जित हात पार्ने टिमको प्लेअफ सम्भावना हुनेछ।

आइतबार अबुधाबीमा टस हारेर पहिले ब्याटिङ गरेको पञ्जावले २० ओभरमा ६ विकेटको क्षतिमा १५३ रन जोड्यो। पञ्जावका लागि दीपक हूडाले नटआउट ६२ रन जोडे। उनले ३० बलमा ३ चौका र ४ छक्का हिर्काए।

त्यसअघि ओपनर तथा कप्तान केएल राहुल २९ र मंयक अग्रवाल २६ रनमा आउट भए। क्रिस गेलले १२ रन भन्दा बढी जोड्न सकेनन्।

बलिङमा चेन्नईका लुङ्गी एनगिडीले ३ विकेट लिए।

१५४ रनको लक्ष्य चेन्नईले ७ बल खेल्न बाँकी छदा १ विकेटको क्षतिमा पूरा गर्‍यो।

चेन्नईको जितमा ऋतुराज गायकवाडले नटआउट ६२ रन जोडे। उनले ४९ बलमा ६ चौका र १ छक्का हिर्काए।

अर्का ओपनर फाप डु प्लेसिसले ४८ रन जोडेका थिए। अम्बाती रायदु ३० रनमा नटआउट रहे।