कोरोना संक्रमणको जोखिम र लामो लकडाउनका कारण सात महिना बन्द रहेको पोखराको फेवातालमा डुंगा सञ्चालनमा आएसँगै पर्यटकहरुको चहलपहल पनि बढेको छ ।
गते असोज २ गतेबाट सञ्चालनको अनुमति पाए पनि सुरुवाती दिनभन्दा अहिले आन्तरिक पर्यटकहरुको चहल-पहल बढिरहेको हो । सञ्चालनको सुरुवाती दिनमा रित्ता डुंगाहरु तैरिरहेका देख्न सकिने फेवातालमा अहिले दिनकै दुई सयभन्दा बढी पर्यटकहरु रमाउने गरेका छन् ।विगतभन्दा संख्यात्मक हिसाबले कम भए पनि लकडाउनपछिको अवस्थामा आन्तरिक पर्यटन केही सन्तोषजनक छ । अहिले देशभरीका मठमन्दिर जस्तै फेवातालबीचमा रहेको तालबाराही मन्दिर बन्द छ । यद्यपि डुंगाबाटै मन्दिर परिक्रमा गर्ने आन्तरिक पर्यटकहरुको चहलपहल भने बढ्दो छ ।
विगत वर्षहरुमा दैनिक आठ सयभन्दा बढी आन्तरिक पर्यटकहरु घुम्न पुग्न फेवातालमा अहिले दुई सय हाराहारीमा पर्यटन आउने गरेका छन् । अहिले फेवातालमा दैनिक ३५ वटा डुंगा सञ्चालनमा छन् । विगतका वर्षहरु जस्तै फेवातालमा आन्तरिक तथा बाह्य पर्यटकहरु भित्र्याउन पोखराका पर्यटन व्यवसायीहरु एकजुट भएका छन् । नेपालमा कोरोनाको प्रभाव कम भएको सन्देश विश्वभर दिन सकेमा बाह्य पर्यटकहरुको आगमन बढ्ने फेवा डुंगा व्यवसायी समिति उपाध्यक्ष मंगल नेपालीले बताए ।
फेवातालमा सयर हुने पर्यटक र अन्य डुंगा चालकहरुले स्वाथ्य सुरुक्षाका मापदण्ड अनिवार्य पालना गर्नुपर्ने हुन्छ । सबैभन्दा महत्त्वपूर्ण साबुनपानीले हात धुने र मास्क अनिवार्य गरिएको छ । तापक्रम नापेपछि भने लाइफ ज्याकेट दिएर ढुंगामा बस्न दिइने फेवा डुंगा व्यवसायी समितिले जनाएको छ । प्रयोगमा आइसकेका लाइफ ज्याकेटलाई स्यानिटाइजर गरेर पुनः प्रयोगमा ल्याइने गरेको छ । डुंगामा भौतिक दूरी कायम गर्ने गरिएको छ ।