काठमाडाैं- नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुरानो सोच र संस्कृतिको अन्त्य गर्दै नयाँ वैचारिक आधारमा नयाँ सोच र संस्कृतिको विकास गर्नु आजको आवश्यकता भएकाे बताएका छन्।
मुस्लिम समुदायको महान् पर्व बकर इद् (ईद उल अजहा)का अवसरमा शुभकामना सन्देश दिँदै प्रचण्डले नेपाली जनताले नयाँ विचारको विकासका आधारमा मुलुकको आर्थिक समृद्धिका लागि आफ्नो अभिमत प्रकट गरेकाे उल्लेख गरे।
‘जनताको यही आशा र भरोसाको सम्मान भनेको विचार अनुरुपको नेतृत्व निर्माण नै हो’, शुभकामना सन्देशमा उनले भनेका छन्, ‘यसको पक्षमा दृढतापूर्वक अघि बढ्न आग्रह गर्दै बकर इद् पर्वका अवसरमा सम्पूर्ण नेपाली जनसमुदायमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको कामना व्यक्त गर्दछु।’
‘नेपाल भौगोलिक तथा सांस्कृतिक विविधताले भरिएको देश हो। विविध भाषा, धर्म, कला, साहित्य, परम्परा, चालचलन, मान्यता, चाड पर्व वा संस्कारको अस्तित्व, मान्यता एवं सम्मानको अवस्था नै सांस्कृतिक विविधता हो,’ उनले भने, ‘नेपालको संविधानमा नेपाल बहुसांस्कृतिक विशेषतायुक्त राष्ट्र रहेको उल्लेखले पनि देशको बहुसांस्कृतिक पक्षलाई आत्मसात गरेको प्रष्ट हुन्छ। समाजमा विकसित भएका सामाजिक मूल्य मान्यता, परम्परा, संस्कृति, उत्पादन सम्बन्ध, प्रविधिलगायतको भौतिक तथा अभौतिक पक्षको समुच्च रुप नै संस्कृति हो।’