धादिङमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु भएको छ। बुधबार साँझ काठमाडौंबाट हेटौंडा जाँदै गरेको ना ६ ख ४९४७ नम्बर ट्रकले एक बालकलाई ठक्कर दिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक महेन्द्र खड्काका अनुसार धुनिबेंशी नगरपालिका-८ खानीखोलामा ट्रकले बालकलाई ठक्कर दिएको हो।
ठक्करबाट सोही ठाउँका अन्दाजी ७-८ वर्षीय रितेश तामाङको घटनास्थलमै मृत्यु भएको हो। ‘अहिले शव उठिसकेको छैन। प्रहरी घटनास्थलमा पुगेको छ,’प्रहरी उपरीक्षक खड्काले भने, ‘दुर्घटना हुँदा केहीबेर राजमार्ग अवरोध भएको छ।’बालकको शव उठाउने काम भइरहेको उनले बताए। त्यस्तै, ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।