चिनियाँ विदेश मन्त्री वाङ यी जापान र दक्षिण कोरियाको भ्रमणमा जाने भएका छन्। चिनियाँ समाचार पत्र ग्लोबल टाइम्सका अनुसार उनी नोभेम्बर २४ देखि २७ गतेसम्मका लागि जापान र दक्षिण कोरियामा भ्रमणमा जान लागेका हुन्।
उनी जापानी र दक्षिण कोरियाली विदेशमन्त्रीको निमन्त्रणामा भ्रमणमा जान लागेका हुन्। विदेशमन्त्री यी मंगलबार जापान जाने छन्। छिमेकी देशहरूबीच भएको राजनितिक मतभेदलाई पन्छ्याएर कोरोनाभाइरसको महामारीबाट प्रभावित भएको अर्थतन्त्रलाई पुनर्जीवित गर्न चिनियाँ विदेश मन्त्रीले जापानमा व्यापारिक भ्रमण गर्न लागेको बताइएको छ।जापान र चीनबिच विभिन्न विषयहरू छन् र त्यसलाई उच्चस्तरीय वार्ताबाट एकएक गरी समाधान गर्न सकिन्छ,’ जापानका विदेश मन्त्री टोशिमित्सु मोतेगीले शुक्रबार पत्रकार सम्मेलनमा भने।
जापानी अधिकारीहरूका अनुसार दुई दिने भ्रमणमा यीले प्रधानमन्त्री योशिहिडे सुगासँग भेटवार्ता गर्नेछन्।
जापान भ्रमणपछि उनी बुधबार सउल पुग्नेछन्।
कोरियामा हुँदा उनले दक्षिण कोरियाका विदेशमन्त्री काङ क्युङ ह्वासँग भेटवार्ता गर्नेछन्। चिनियाँ राष्ट्रपति सी चिङफिङ सउल जानबारे छलफल भइरहेको बेलामा विदेशमन्त्री वाङ त्यँहा पुगेका हुन्।
उनी यस वर्षको सुरूमा सउल जाने कुरा थियो तर कोरोना भाइरसको महामारीले गर्दा भ्रमण तालिकामा असर परेको थियो।