अर्नाले निकुञ्जले बनाएको खुला खोरमा बच्चा जन्माए

दुर्लभ मानिएको अर्नाले चितवन राष्ट्रिय निकुञ्जको खोरमा बच्चा जन्माएको छ।कोशी टप्पु र सदर चिडियाखाना ललितपुरबाट स्थानान्तरण गरी ल्याइएको अर्नाले निकुञ्जले बनाएको खुला खोरमा बच्चा जन्माएको हो।

निकुञ्जको पूर्वी क्षेत्रअन्तर्गत पुरानो पदमपुरको खुला खोरमा राखेर संरक्षण गरिएको अर्नाले बच्चा जन्माएपछि प्रजाति विस्तारमा सफलता मिलेको निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले बताए।

२०७३ सालको माघ १२ देखि २८ गतेसम्म १६ दिनको अन्तरालमा यहाँ १५ अर्ना स्थानान्तरण गरी ल्याइएको थियो। कोशी टप्पुबाट दुई भाले र १० पोथी गरी १२ तथा सदर चिडियाखाना ललितपुरबाट एक भाले र दुई पोथीसहित तीन अर्ना स्थानान्तरण गरी ल्याइएको थियो।

तीमध्ये विभिन्न कारणले छ वटा अर्ना मरेका छन् । नौ वटा माउमध्ये सात पोथी र दुई भाले रहेको अधिकारीले जानकारी दिए। सौराहास्थित पुरानो पदमपुर क्षेत्रमा ३० हेक्टरको क्षेत्रफलमा खुला खोर बनाएर अर्ना राखिएको छ।

अधिकारीका अनुसार सोमबार जन्मिएको भए पनि अझै लिङ्ग पहिचान भने गर्न सकिएको छैन।खुला खोरको झाडीमा रहेकाले पहिचान गर्न कठिन भएको उनले बताए। यहाँ स्थानान्तरणपछि योसहित पाँच वटा बच्चा जन्मिएका छन्।

गत वर्ष जन्मिएकामध्ये तीन भाले ९पाडो० र एक पोथी ९पाडी० छन्। बाघको आक्रमणबाट मृत्यु हुनसक्ने भएकाले इन्क्लोजर(खोर) बनाएर पालिएको अधिकारीले बताए।

झुण्डमा हिँड्न थालेपछि भने बाघले पनि आक्रमण गर्न नसक्ने भएकाले त्यसपछि मात्रै खुलाखोरबाट जङ्गलमा छाड्ने योजना निकुञ्जको छ। चितवन निकुञ्जमा सन् १९६० देखि नै अर्ना रहेका थिए। तर पछि लोप भएर अर्ना देखिनै छाडेका थिए।