काठमाडौ । धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गरेको क्रिकेट मैदानमा खेल हुने भएको छ । बागमती प्रदेश क्रिकेट संघले मंसिर अन्तिम साता गौतमबुद्ध कप क्रिकेट प्रतियोगिता आयोजना गर्ने जनाएको । त्यसको लागि धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गरेको अन्तराष्ट्रिय क्रिकेट मैदानलाई छानेको छ ।
राष्ट्रिय टिमका खेलाडीले पनि खेल्ने बताइएको प्रतियोगिता मंसिर २७ गतेदेखि चितवनस्थित धुर्मुस सुन्तली फाउन्डेसनले निर्माण गरिरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानको नमुना क्रिकेट मैदानमा हुने भएको हो।
कोरोनाको कहर कायमै रहेकाले स्वास्थ्य मापदण्ड अपनाएर प्रतियोगिता संचालन गरिने बताइएको छ । अहिले राष्ट्रिय टिमको क्याम्पमा बोलाइएका २७ खेलाडीलाई प्रतियोगितामा समावेश गरिने आयोजकले जनाएको छ। यस्तै राष्ट्रिय टिममा खेलिसकेका र क्याम्पमा नपरेका यू१९ का प्रतिभाशाली खेलाडीहरु थप गरिने आयोजकको भनाइ छ। राष्ट्रिय टिमको प्रशिक्षक र कप्तानलाई बाँकी खेलाडी छनोट गर्ने जिम्मा दिइएको छ।
प्रतियोगितामा राष्ट्रिय खेलाडीदेखि स्थानीय खेलाडीहरु सम्मिलित तीन टिमले प्रतिस्पर्धा गर्नेछन्। मंसिर २७ देखि ३० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा जम्मा चार खेल हुने आयोजकले जनाएको छ। तीन टिमले एक आपसमा प्रतिस्पर्धा गरेपछि शीर्ष दुईले उपाधिका लागि फाइनल खेल्नेछन्।
प्रतियोगताका खेलहरु सकेसम्म ५० ओभर गर्ने योजना आयोजकको छ। तर चितवनको मौसम अहिले दिनभर क्रिकेट खेल्न सुहाउँदो नभएकोले कति ओभरको खेल गर्ने मौसमको अवस्था हेरेर पछि निर्णय हुनेछ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीपछि क्रिकेट गतिविधिलाई बढाउन प्रतियोगिता आयोजना गरिन लागिएको आयोजकले जनाएको छ। प्रतियोगिताको व्यवस्थापन क्विन्स इभेन्ट म्यानेजमेन्टले गर्नेछ।