दोलखा । नेपालमा सवारी चालक रहेका आफ्ना पतिको दुर्घटनामा मृत्यु भएको खबरले विदेशमा रहेकी एक युवतीले देहत्याग गरेकी छन् । दोलखाको गौरीशंकर गाउँपालिका–८, खरेका चालक सुविन तामाङको गत आइतबार बोलेरो दुर्घटनामा मृत्यु भयो । सोही रात युरोपियन मुलुक साइप्रसमा घरेलु कामदार रहेकी उनकी पत्नी २३ वर्षीया शुक्री तामाङले पनि देहत्याग गरिन् ।
मृतक तामाङले टिकटकमा श्रीमान्को दुर्घटनाको भिडियो पोष्ट गर्दै आफ्ना आमा, बुबा, सासू र ससुरासँग माफी माग्दै आफू पनि आफ्नो ‘मुटु’ सँगै जान लागेको उल्लेख गरेकी थिइन् । उनले टिकटकमा मृतक श्रीमानको दुर्घटनाग्रस्त तस्बिर राख्दै भनेकी छन्, ‘मिस यु मुटु । म आउँदै छु । हामी भेट हुनुपर्छ है ।’
आफन्तका अनुसार शुक्री र सुबिनको विवाह भएको एक वर्ष पनि पुगेको थिएन । विवाहलगत्तै शुक्री २०१९ अक्टोबरमा साइप्रसको लार्नाका शहरमा घरेलु कामदार बनेर गएकी थिइन् । तामाङको शव स्वदेश ल्याउने तयारी भइरहेको पारिवारिक स्रोतले जानकारी दिएको छ ।
मृतक तामाङ सन् २०१९ को अक्टोबर महिनामा नेपालको काठमाडौँ ईन्टरनेशनल मेनपावरबाट साईप्रसको लार्नाका सहरमा घरेलु कामदारको रुपमा काम गर्न आएकी होनरी कन्सुलेट साईप्रसका प्रमुख डा. रामजीवन पञ्जियरले जानकारी दिएका छन । मृतक तमाङको शव उनकै परिवारको सल्लाह अनुसार स्वदेश पठाउने डा. पन्जियरले बताए ।
मृतक तामाङ वैवाहिक सम्बन्धमा बाँधिएको एक वर्ष नपुग्दै साइईप्रसमा आएकी थिइन् । श्रीमान् सुबिन तामाङ नेपालमा ड्राइभरको पेशामा थिए ।