केपी-प्रचण्डले काम गर्ने मेसो पाएन: रामचन्द्र पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र अर्का पुष्पकमल दाहाल प्रचण्डले भन्दा आफूले मुलुकका लागि कायापलट हुने गरी काम गर्न सक्ने बताएका छन्।

मौका पाउने हो भने आफूले पाँच/दश वर्षमा मुलुकमा विकासको कायापलट हुने गरी काम गरेर देखाउने पौडेलले बताएका हुन्।ओली-प्रचण्डले काम गर्ने मेसो नपाएको पनि पौडेलले दाबी गरे।

‘केपी-प्रचण्डले काम गर्ने मेसो पाएनन्। मौका पाएँ भने उनीहरूले भन्दा मैले काम गर्न सक्छु। पाँच/दश वर्षमा यो मुलुक कायापलट हुन्छ,’ सामाजिक लोकतन्त्र अध्ययन केन्द्रले शनिबार गरेको कार्यक्रममा पौडेलले भने, ‘कामको मेसो जान्नुपर्‍यो नि!, तिमीहरूलाई भन्दा काम गर्ने मेसो मलाई छ।’

उनले ओली, प्रचण्ड, माधव नेपाल, बामदेव गौतमको भन्दा देशका लागि आफ्नो योगदान धेरै भएको पनि उल्लेख गरेका छन्। ‘मुलुकका लागि यी नेताहरूको योगदान कति छ?,’ उनले प्रश्न गरे, ‘बरू मेरो योगदान छ। जीवनमा कुनै जिम्मेवारी लिएको ठाउँमा म चुकेको छु? ३० वर्ष पञ्चायतसँगको लडाइँमा म कतै झुकेँ?’

आफ्नो विचार थुन्न आफूलाई १४ वर्ष जेलमा थुनिएको प्रसंग निकाल्दै पौडेलले थपे, ‘केपीलाई जस्तो ज्यान मुद्दामा मलाई जेल राखेको होइन। म आस्थाको बन्दी हो। आस्था र सिद्धान्तका लागि जेल बसेको। यिनीहरूसँग म किन झुक्ने?’

नैतिक र राजनीतिक रूपमा ओली-प्रचण्डसँग फेस गर्ने हिम्मत आफूसँग रहेको पौडेलले बताए।

‘देशलाई निकास दिन सक्ने क्षमता मसँग छ,’ उनले भने, ‘कम्युनिष्टले केहि गर्न सकेनन् अब कांग्रेसले केहि गर्छ भन्ने सन्देश १४ औं महाधिवेशनबाट दिनुपर्छ।’ कम्युनिष्टहरूले हल्ला गर्ने तर देश विकास गर्न नसक्ने उनले आरोप लगाए।

उनले जनतालाई भेडाबाख्रा नठान्न पनि आग्रह गरेका छन्। ‘राजनीति जनमुखी हुनुपर्‍यो,’ उनले भने, ‘जनतालाई भेडाबाख्रा ठान्न भएन।’

कम्युनिष्ट सरकार कुहिरोको काग!

नेता पौडेलले केपी शर्मा ओली नेतृत्वको अहिलेको सरकार कुहिरोको कागजस्तै भएको बताएका छन्।

विकासका लागि सरकारले प्राथमिकता चयन गर्न नसकेको उनको भनाइ छ।

‘हामीले कच्ची बाटो गाउँमा पुर्‍याइदिएको थियो। केपी ओलीले कच्ची सडक धमाधम कालोपत्र गर्नुपर्थ्यो,’ उनले भने, ‘कृषि अनुसन्धान र कृषि प्रसारका काम गर्दै किसानलाई सहयोग गर्नुपर्थ्यो। पर्यटन विकास गर्नुपर्थ्यो। तर केही भएन।’

सरकारले पानी जहाज र रेलका गफ हाकेर विकासका प्राथमिकता चयन गर्न नसकेको पनि उनले बताए। ‘पानी जहाज र रेलको गफ हाकेर सरकार बस्यो। कुरा मात्रै गर्‍यो समाधान दिन सकेन,’ उनले भने, ‘कम्युनिष्टले गर्न सकेनन्, विकल्पमा कांग्रेस छ।’

माटो चिन्ने युवा नेतालाई छोड्न तयार छु

नेता पौडेलले बूढा नेताले केहि गर्न सकेनन्, युवा नेतालाई छोड्नुपर्छ भन्ने आवाज उठ्ने गरेको भन्दै माटो चिन्न सक्ने युवा नेतालाई छोड्न आफू तयार रहेको बताएका छन्।

‘युवा नेता छोड् छोड् भन्छन्,’ उनले भने, ‘म प्रतिक्षामा छु- धुलोबाट आएको नेतालाई छोड्न तयार छु भनेर भन्दै आएको छु। भारतमा मोदी कसरी आए? उनीभन्दा सिनियर नेता थिए त्यहाँ पनि। माटो, धुलोबाट उठेको नेता आओस् छोड्न तयार छु। नेताले ओगटेर राख्छन् भन्ने नसोच्नुहोला।’

एउटै उमेर समूहको भनेर दोष दिन भएन

उनले एकै उमेर समूहका नेता यस्तो उस्तो भनेर दोष दिन नहुने पनि बताए। ‘उमेर समूह एउटै हुँदैमा योगदान, चरित्र र क्रियाकलाप एउटै छ त?,’ उनले कार्यकर्तालाई प्रश्न गरे, ‘पदमा हुँदा शक्ति दुरूपयोग गर्‍यो वा गरेन खोज्नुपर्‍यो। म चुनौती दिन चाहन्छु मैले दुरूपयोग केहि गरेको छैन, खोज्नुहोस्।’

उनले सय भारी खर खोज्नेलाई र त्यो खरको थुप्रोलाई एउटा सलाइको काटी कोरेर आगो लगाउनेलाई समान व्यवहार गर्ने गरी मूल्यांकन नगर्न पनि कार्यकर्तालाई आग्रह गरे।

कांग्रेस लोकतान्त्रिक हुनुपर्‍यो

वरिष्ठ नेता पौडेलले कांग्रेस आफू लोकतान्त्रिक हुनुपर्नेमा पनि जोड दिएका छन्।

‘कांग्रेसभित्र आन्तरिक लोकतन्त्र सबल हुनुपर्‍यो,’ उनले भने। पञ्चायतकालमा जस्तो हुकुमी शासन हुन नहुने उनले बताए।

‘पार्टीका भातृ संस्थालाई अधिवेशन नगरेर अस्थिपञ्जर मात्रै राखिएको छ,’ उनले भने, ‘केन्द्रीय समितिले निर्णय गर्नुपर्ने ठाउँमा एउटा मुख्यसचिवले आदेशानुसार भनेर विज्ञप्ति जारी गरिदिएर म्याद थपियो भनिदिने?’

भातृ संस्थाका मर्यादा भए पनि अपमानित गरिएको उनले बताए। सभापति देउवाको निर्देशनमा शुक्रबार ९ भातृ संस्थाको म्याद थपिएको थियो।

उनले विधानविपरीत सभापतिले विभाग बनाएर पद बाँडिएको पनि आरोप लगाए।

‘आफूलाई बलियो बनाउन अधिकार प्रयोग गर्ने नेता हुन्छ?’ उनले भने, ‘यो न्याय हुन्छ?’सेतोपाटी