नेताले राजनीतिलाई व्यापार बनाए, थोत्रा चप्पल लाउनेले महल ठड्याए’

काठमाडौं:राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले केही राजनीतिक दलका केही नेताले राजनीतिलाई व्यापार बनाएको गुनासो गरेका छन्। ‘राजनीति भनेको समाज सेवा हो, तर केही नेताले राजनीतिलाई व्यापार बनाए, जसका कारण देश उँभो लाग्‍न सकेन, नेता मात्र उँभो लागे’, उनले भने, ‘हिजो थोत्रा चप्पल लगाउनेहरूले ठूला-ठूला महल बनाए।’

संवाद क्लब नेपालले शनिबार गरेको अन्तर संवाद कार्यक्रममा उनले राजनीति देश र जनताका लागि भए पनि त्यसो हुन नसकेको र भाग बण्डामा सीमित भएको गुनासो गरे । जनताको बलिदानबाट प्राप्त भएको व्यवस्था खराब नभए पनि सञ्चालन गर्ने नेताहरुमा इमान नभएको दुखेसो गरे। केसीले सत्तारुढ नेकपाभित्रको पछिल्लो विवादलाई अध्यक्ष केसीले नेता केन्द्रित राजनीतिको संज्ञा दिएका छन्।

उनले नेकपामा भावनात्मक रूपमा एकतानै नभएका कारण समस्या आएको बताएका छन्। त्यस अवसरमा राजनीतिक विश्लेषक विष्णुप्रसाद शर्माले राजनीतिक दलका नेताले देश र जनताको पक्षमा काम गर्न नसकेको बताए। उनले देशमा भ्रष्टाचार बढेकामा चिन्ता व्यक्त गरेका छन्।