फ्रेञ्च लिग वानमा साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पराजित भएको छ। पिएसजीलाई आइतबार भएको खेलमा लियोनले १-० गोलले पराजित गर्यो।
लियोनका लागि टीनो कदेवेरेले खेलको ३५ मिनेटमा गरेको गोल निर्णायक बन्यो। उनलाई गोल गर्न टोको इमाम्बीले पास दिएका थिए।
दोस्रो हाफको इन्जुरी टाइमको नवौं मिनेटमा लियोनका थियागो मेन्डेसले पिएसजीका नेइमारलाई फउल गरेका कारण रातो कार्ड पएका थिए।इन्जुरी टाइमको छैटौं मिनेटमा पिएसजीका फरवार्ड नेइमार घाइते भएका थिए। मेन्डेसले फउल गरेका कारण कुर्कुच्चामा चोट बोक्दै नेइमार मैदान बाहिरिएका थिए।
उनको चोटको विषयमा थप जानकारी सोमबारसम्म आउने बताइएको छ। हारसँगै पिएसजीले अंक तालिकाको शीर्ष स्थानमा पुग्ने मौका गुमाएको छ। पिएसजी १४ खेलबाट २८ अंक जोड्दै तेस्रो स्थानमा छ।
शीर्ष स्थानको लिलेको १४ खेलबाट २९ अंक छ। दोस्रो स्थानम रहेको लियोनले पनि समान खेलबाट २९ अंक नै जोडेको छ।