अहिले नेकपा एमाले भन्ने कुनै पार्टी नै छैन-माधव नेपाल

काठमाडौ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले अहिले नेकपा एमाले भन्ने कुनै पार्टी नै नभएको बताएका छन् । उनले पहिल्यै विघटन भइसकेको पार्टी फेरी ब्युँतन नसक्ने बताएका छन्।

नेकपाको विवादकाबीच भएको समानान्तर केन्द्रिय समितिको बैठकमा नेपालले यस्तो बताएका हुन् । मंगलबार बबरमहलको कार्की पार्टी प्यालेसमा प्रचण्ड–माधव समूहले समानान्तर केन्द्रिय समितिको बैठक राखेका थिए । केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै उनले एमाले ब्युत्याउन सपना नदेख्न चेतावनी दिए।

‘उनले प्रचण्डले ओलीको अपमान धेरै सहेको बताए । नेकपा एमाले ब्युँताउने भन्ने सुन्दैछु’, उनले भने, ‘पार्टी एकता हुँदा नै दुवै पार्टी विघटन भइसके, अब ती ब्युँतन सक्दैनन्।’ उनले पार्टीको नाममा धावा बोल्दैमा बैधानिकता नपाउने भन्दै पार्टी केन्द्रीय समितिको दुईतिहाइ संख्या आफूहरुको पक्षमा रहेको दावी गरे।

उनले वालुवाटारमा भएको ओली पक्षको समानान्तर बैठकलाई गुट भेलाको संज्ञा दिएका छन् । ‘केन्द्रीय कमिटी सबैभन्दा ठूलो हो। त्योभन्दा माथि कोही हुनेवाला छैन,’ नेपालले भने,‘बालुवाटारको गुट भेला हो पार्टी केन्द्रीय कमिटी बैठक होइन।’

प्रचण्ड-नेपाल समूहको स्थायी कमिटीले ओलीलाई अध्यक्षबाट हटाएर नेपाललाई अध्यक्ष बनाउने निर्णय गरेको छ। नेता नेपालले आफूहरु ओलीको अपमान सहेर पनि पार्टी एकता बचाउन लागे पनि एकपछि अर्को गर्दै पार्टी निर्णयको उल्लधंन भएका कारण हेरेर बस्ने अवस्था नभएको बताए। उनले प्रधानमन्त्रीको असंवैधानिक कदम खारेज हुने समेत दावी गरे।