उत्तर कोरियाली नेता किम जङ-अनकी श्रीमतीको परिचयसँग जोडिएको प्रश्नको जवाफ खोज्न गाह्रो छ किनकि त्यो प्रश्न रहस्यले घेरिएका किम जङ-अनसँग सम्बन्धित छ। किम जङ-अनका सन्तानको संख्याबारे पनि अहिलेसम्म वास्तविक जानकारी छैन।
सन् २०१२ को गर्मीयामदेखि रि सोल-जु सार्वजनिक रुपमा देखिन थालेकी हुन्। त्यसको केही समयपछि सरकारी सञ्चारमाध्यमले रि सोल-जु किम जङ-अनकी श्रीमती भएको बताउन थाले तर त्यसअघिको पनि उनको जीवन एउटा पहेली जस्तै छ। केही सञ्चारमाध्यमका अनुसार उनी एक गायिका थिइन्।तर केही सञ्चारमाध्यमहरु रि सोल-जु राष्ट्रिय खेलकुद टोलीकी ‘चीयरलीडर’ भएको बताउँछन्।कोरिया लिडरशीप वाच वेबसाइटकी सहयोगी सिएर म्याडनले बीबीसीसँग कुरा गर्दै भनिन्, “रि सोल-जुको बिहे सन् २००९-१० मा भएको थियो। त्यसअघि उनी एक गायिका र चीयरलीडर थिइन्, उनले जापान र दक्षिण कोरियाको यात्रा पनि गरेकी थिइन्।” रि सोल-जुको जीवनबारे यो भन्दा बढी जानकारी उपलब्ध छैन।
उनको उमेरबारे उत्तर कोरियाली शासकको तर्फबाट कुनै जानकारी उपलब्ध गराइएको छैन। तर रि सोल-जुको उमेर ३० वर्षभन्दा बढी नभएको ठानिन्छ। सधैँ मुस्कुराइरहने र सार्वजनिक कार्यक्रममा किम जङ-अनसँगै देखिने रि सोल-जुको तुलना पूर्व अमेरिकी प्रथम महिला मिशेल ओबामासँग गरिन्छ।
म्याडनका अनुसार उत्तर कोरियामा रि सोल-जुको भूमिका मिशेल ओबामाभन्दा कम हुन सक्दैन। पछिल्लो समय क्षेप्यास्त्र परीक्षण र सौन्दर्य उत्पादक कम्पनीको उद्घाटन लगायतका कार्यक्रममा रि सोल-जु किम जङ-अनसँगै देखिएकी थिइन्।
हालसालै कैयौँ मुलुकले उत्तर कोरियालाई विलाशी सामानहरु निर्यात गर्न बन्द गरेका छन्। त्यसलाई मध्यनजर गर्दै सौन्दर्य सामाग्रीको अभाव नहोस् भनेर उत्तर कोरियाले त्यसको उत्पादन थालेको बताइन्छ। किम जङ-अनले श्रीमती रि सोल-जुलाई आफूसँगै सार्वजनिक कार्यक्रममा उपस्थित गराएर एउटा परम्परा पनि तोडेका छन्।
उनका बुवाले आफ्नी श्रीमतीहरुलाई सार्वजनिक कार्यक्रममा उपस्थित गराउने गरेका थिएनन्। म्याडन भन्छिन्, “यो नयाँ कुरा नै हो किनकि रि सोल-जुलाई उत्तर कोरियामा आमाको स्थान दिन थालिएको छ।” उत्तर कोरियाको सत्तारुढ परिवारबारे अवलम्बन गरिने गोपनीयताका कारण किम जङ-अनका सन्तानको संख्याबारे पनि वास्तविक जानकारी छैन। दक्षिण कोरियाली गुप्तचर निकायका अनुसार रि सोल-जुले गत फेब्रुअरीमा तेस्रो बच्चा पाएकी थिइन् तर बच्चाको लिङ्ग र नामबारे केही थाहा हुन सकेको छैन।