लोडसेडिङ कुलमानले होइन केपी ओलीले अन्त्य गरेका हुन् : मुख्यमन्त्री पोखरेल

काठमाडौं । पछिल्लो समय काठमाडौं उपत्यकालगायत देशका विभिन्न क्षेत्रमा विद्युत आपूर्ति अवरुद्ध हुने गरेको छ । नेपाल विद्युत प्राधिकरणले प्राविधिक कारण तथा मर्मत संम्भार गर्दाको समयमा मात्रै लोडसेडिङ हुने गरेको दावी गरेको छ ।

तर सर्वसाधारणले भने कुलमान घिसिङ बाहिरिएपछि अहिले प्राविधकरण व्यवस्थित हुन नसकेको आरोप लगाएका छन् । यसै बिच लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले लोडसेडिङको अन्त्य कुलमान घिसिङले नभई प्रधानमन्त्री केपी शर्मा ओली गरेको बताएका छन् ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहको बिहीबार प्युठानमा आयोजित जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन् । २५० मेगावाट विद्युत अपुग भएका बेला प्रधानमन्त्री ओलीले भारतसँग ट्रान्समिसन लाइन र विद्युत खरिद सम्झौता गरेर लोडसेडिङ अन्त्यको आधार तयार पारेको बताए । एउटा व्यवस्थापकलाई लोडसेडिङ अन्त्यको जस दिनु सही नभएको उनको भनाइ छ ।

‘कुलमान घिसिङले विद्युत चुहावट नियन्त्रण गरेकै हुन्, व्यवस्थापन गरेकै हुन्’ नेकपा ओली समूहको जिल्ला संगठन कमिटीले आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री पोखरेलले भने, ‘विद्युत संकट समाधान गर्ने आधार प्रधानमन्त्री केपी शर्मा ओलीले तय गर्नुभएको हो ।’

अहिले नेपाल विद्युत प्राधिकरणले अघोषित लोडसेडिङलाई निरन्तरता दिन थालेको छ । जसले गर्दा सर्वसाधारण रुष्ट छन् । कुलमानले व्यवपस्थित बनाएको नेपालको विद्युत आपूर्तिलाई अहिले फेरी अव्यवस्थित बनाउनेहरुको चलखेल बढेको कतिपयको आशंका छ । उता प्राधिकरणले भने ट्रान्सफर्मर जस्ता उपकरणहरुमा समस्या आएकाले विद्युत आपूर्तिमा अवरोध हुने गरेको जानकारी दिएका छ ।

प्राधिकरणका प्रवतmा मदन तिमल्सिनाका गत वर्षको तुलनामा विद्युतको माग पनि बढेको छ, जसले गर्दा समस्या आएको हो । तर सर्वसाधारणले सोचे जस्तो प्राधिकरणमा कुलमान नभएकाले समस्या आएको भन्ने बुझाई गलत भएको तिमिल्सिनाको दावी छ ।