ढिलो नगरिकन समयमै राजसंस्था र हिन्दुराष्ट्र बनाउन कमल थापाले आग्रह गरे

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले अब सडक आन्दोलनबाटै राजसंस्था पुनरस्थापित गर्ने दावी गरेका छन्। शुक्रबार काठमाडौंमा विरोध प्रदर्शनपछि आयोजित सभामा सम्बोधन गर्दै अध्यक्ष थापाले यस्तो बताएका हुन्। राजनीतिक नेताहरुले समयमै जिम्मेवारी पूर्वक सोचेनन् भने देश द्वन्द्वतर्फ जानसक्ने भन्दै उनले चिन्ता व्यक्त गरे।

देश द्वन्द्को अवस्थामा गइसकेपछि कांग्रेस, कम्युनिस्ट, मधेशवादी दलहरुको नियन्त्रण वा ती नेताहरुको नियन्त्रणमा परिस्थिति नरहने भन्दै समयमै राजसंस्था र हिन्दुराष्ट्र साझा एजेन्डा बनाउन आग्रह गरे। उनले भने,’ त्यसैले ढिलो नगरिकन साझा व्यवस्था र साझा प्रणाली निर्माणमा लागौं।’

उनले राजसंस्था र हिन्दुराष्ट्र अब राप्रपाको मात्र एजेन्डा नभएको बताए। उनले भने,’ हिजो कठिन घडिमा राप्रपाले बोक्यो होला। तर अब आम नेपालीको एजेन्डा बनिसकेको छ। कसैले चाहेर पनि नचाहेर पनि प्रत्येक हिन्दुहरुको घरघरमा हिन्दुराष्ट्रका बारेमा चर्चा हुन थालेको छ।’

उनले हिन्दुराष्ट्र र राजसंस्थालाई पुनरस्थापित र संघीयतालाई पुनरावलोकन गर्नतिर नसोच्ने हो भने सडकबाटै आफ्ना मान्यताहरुलाई स्थापित गर्ने बताए। त्यसका लागि राप्रपा तयार भएर आएको पनि उनले स्पस्ट पारे।

सिंहदरबार र शीतल निवासका शासकहरुलाई सार्वजनिक आह्वान भन्दै अध्यक्ष थापाले भने, ‘हामी यो देश बचाउन, प्रजातन्त्र र राष्ट्रियतालाई बलियो बनाउन र नेपाली जनताको आर्थिक समृद्धिका निमित्त आवश्यक पर्‍यो भने मार्न र मर्न पनि तयार भएर सडकमा आएका छौं । टाउकोमा कफन बाँधेर आएका छौं ।’