प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई चुनौती दिए

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीले काम गर्न नदिएको एउटा मात्रै प्रमाण दिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई चुनौती दिएका छन् । राजधानीमा आयोजित प्रचण्ड–माधव पक्षको काठमाडौं जिल्ला कार्यकर्ता भेलामा प्रचण्डले ओलीलाई पार्टीले कुन काममा भाँजो हाल्यो ? भनि प्रश्न गरेका छन् ।

प्रतिनिधिसभा भंग गर्दा प्रधानमन्त्री ओलीले पार्टीले घेराबन्दी गर्‍यो, काम गर्न दिएन भनेर दाबी गरेको भन्दै उनले भने, ‘केपी ओलीजीलाई मेरो चुनौती छ, पार्टीले काम गर्न नदिएको एउटा प्रमाण दिनुस् । कुन काममा भाँजो हाल्यो ?’

समाजवादतिर जाने बाटो बन्छ भनेर आफूले पार्टी एकता गरे पनि प्रधानमन्त्रीबाट संविधान र गणतन्त्र नै मास्ने काम भएको उनले बताए ।उनले केपी ओलीमाथि कटाक्ष गर्दै उखान टुक्काले हँसाएर कमेडी सो देखाउन आफूहरु नजुटेको बताए ।अध्यक्ष प्रचण्डले भने, ‘हामी उखान टुक्काले हसाएर कमेडी सो देखाउन जुटेका होइनौं । मान्छेहरुलाई उद्वेलित बनाउन उपस्थित भएका होइनौं । हाम्रा आँखा अगाडि यति ठूलो परिवर्तनमाथि प्र’हार भएको छ । हामीले स्थापित गरेका परिवर्तनका मुद्दा एम्बुसमा परेपछि हामी एकजुट भएका हौं ।’

भेलामा ‘प्रचण्ड’ले भारतीय च्यानल जी-न्यूजसँग प्रधानमन्त्री केपी शर्मा ओलीको अन्तर्वार्ता नाटक भएको बताएका छन् । राजधानीमा आयोजित प्रचण्ड–माधव पक्षको काठमाडौं जिल्ला कार्यकर्ता भेलामा प्रचण्डले सो कुरा बताएका हुन् ।

‘विदेशी शक्ति केन्द्रहरूले उहाँलाई के-के मन्त्र सुनाए। उहाँले मन्त्र सुन्नु भयो। जी- न्यूजको इन्टर्भ्यू तपाईंहरूले हेर्नुभयो नि, उहाँले बोलाएको त्यो पनि नाटक कै हो। नाटकै हो। त्यसको पटाक्षप आज भइसक्यो। अब सगरमाथाको नाम फेर्ने रे, त्यही जी-न्यूजले। यो के नाटक देखिँदैछ तपाईं हामीले ?,’ प्रचण्डले प्रश्न गरे।

प्रचण्डले भने, ‘अनि उहाँले अहिले पार्टी विभाजन र संसद भंग भारतले भनेर गरेको सारा जनताले देखे बुझे । तपाईं यसलाई के भन्नुहुन्छ केपीजी । मैले भारतलाई अन्यथा भन्न खोजको होइन, तर केपीजीको त देखियो नि त । उहाँले कसलाई विशेष दूत भन्नुभयो, गुफ्तगु गर्नुभयो तीन घण्टा बालुवटारभित्रै ।’