वाईवाई नेपाल स्टारको फाईनल भिडन्त यही माघ १७ गते हुँदैछ । नेपाल स्टारको फाईनलमा पुगेका ४ जना प्रतियोगीहरुमध्ये सुरेश लामा पहिलो नेपाल स्टार बन्नसक्ने बलियो दाबेदार हुन् । सुरेश उनको संघर्ष र नम्रताले मात्र होईन उनको आवाज र प्रस्तुतिका कारण नेपाल स्टारमा चिनिएका छन् । दर्शकहरुको ढुकढुकीमा बस्न सफल सुरेशलाई दर्शकले मात्र होईन निर्णायकहरुले पनि पहिलो नेपाल स्टार बनेको हेर्न चाहान्छन् भन्ने कुरा शोमा नै देखिँदै आएको छ ।
दर्शकहरुको साथ पाएका सुरेशको सुमधुर आवाजको फ्यान शोकै निर्णायकहरु पनि हुन् । सुरेशलाई दर्शक श्रोता र निर्णायकहरुले किन विजेता भएको हेर्न चाहान्छन् भन्ने कुरा होम भिजिटको एपिसोडका क्रममा देखियो । होम भिजिटका क्रममा उनको स्वागतका लागि उनको गाउँ र शहरसम्म पनि दर्शकहरुले विभिन्न कार्यक्रमको आयोजना गरेको थियो । गृह जिल्ला भ्रमणका क्रममा उनलाई गाकर्णेश्वर नगरपालिकाले आफ्नो शानका रुपमा चिनाएको थियो । उनलाई जिताउनका लागि नगरपालिकावासीहरु पुरै उर्लिएका छन् ।
आफ्ना दर्शकहरुको स्वागत थाप्दै तारेभिरसम्म पुगेका सुरेशलाई गाउँवासीहरुले पनि भव्य स्वागत गरेका थिए । जीवनमा आफुले कसैलाई अटोग्राफ दिन्छु होला भनेर नसोचेका सुरेशको अटोग्राफ लिन गाउँमा पनि प्रशंसकहरु झुम्मिएका थिए । उनलाई प्रशंसक तथा शुभचिन्तकहरुले गाउँ तथा शहर परिक्रमा पनि गराएका थिए । सुरेशले प्रशंसाकै बिचमा उनका बुवाआमालाई पनि सम्झिएका छन् । उनले आमाबुवाको धेरै याद आउने गरेको पनि बताएका छन् । सुरेशले उत्कृष्ट ४ को प्रस्तुति अर्थात होम भिजिट एपिसोडमा दिपक खरेलको ‘तिम्रो त्यो हँसिलो मुहारको’ बोलको गीत गाएका थिए । सुमधुर आवाजमा उनले गाएको गीतमा विशेष अतिथि गीतका संगीतकार तथा गीतकार शम्भुजित बासकोटा र निर्णायकहरु डुबेका थिए ।
उनको प्रस्तुतिमा निर्णायक आलोक श्री र रामकृष्ण ढकालले स्टाण्डिङ अवेशन समेत दिएका थिए । सुरेशको प्रस्तुतिमा निर्णायकहरुले उनी नै विजेता बन्नसक्ने सम्भावना देखेको पनि बताएका थिए । मेलोडियस प्रस्तुति दिएका सुरेशको प्रशंसा गर्दै निर्णायक रामकृष्ण ढकालले उनले नोटमा धेरै ध्यान दिने प्रतियोगीका रुपमा चित्रण समेत गरेका थिए । उनी विजेता बनोस् भन्दै निर्णायक ढकालले शुभकामना समेत दिएका थिए । निर्णायक अञ्जु पन्तले पनि उनको जितको कामना गर्दै उनी आफुहरुको पनि विशेष प्रतियोगी भएको बताएकी थिईन् । उनले सुरेशलाई ह्याट्स अप गरेकी थिईन् । सुरेशको प्रस्तुति र तारेभिरवासीहरुको जोश देख्दा उनी नै नेपाल स्टारको विजेता भएको आभाश भएको बताउँदै निर्णायक आलोक श्रीले उनको प्रशंसा गरेका थिए ।
उनलाई अतिप्रिय प्रतियोगी भन्दै निर्णायक आलोक श्रीले सुरेशको प्रशंसा गरेका थिए । उनले पून उठेर सुरेशलाई सम्मान समेत व्यक्त गरेका थिए । विशेष अतिथि शम्भुजित बास्कोटाले सुरेशको आवाजमा डुब्दै आफुले उक्त गीत कम्पोज गर्दाको समय पनि सम्झिएका थिए । उनको गायकीको प्रशंसा गर्दै बास्कोटाले उनले न्यायपूर्वक गीत गाएको बताएका थिए । साथै उनीसँग भविष्यमासँगै काम गर्ने चाहाना भएको पनि बताएका थिए । सुरेशले उत्कृष्ट ४ छनौटका क्रममा एक्स्पर्ट अफ द डे अवार्ड पनि प्राप्त गरेका थिए । सुरेशले उत्कृष्ट ४ छनौट र उत्कृष्ट ७ को छनौटका क्रममा गरी दुई पटक एक्स्पर्ट अफ द डे अवार्ड प्राप्त गरिसकेका छन् । सुरेशले उत्कृष्ट ६ छनौटका क्रममा र उत्कृष्ट ४ छनौटका क्रममा गरी दुई पटक बटम थ्रीको सामना गरिसकेका छन् ।
काठमाडौँ अडिसनबाट छानिएका सुरेशले विभिन्न राउण्डहरुमा निर्णायकहरुको स्टाण्डिङ ओभिएसन प्राप्त गरेका छन् । काठमाडौँको तारेभिर निवासी सुरेश चर्चित गायक बन्न चाहान्छन् । उनी २८ वर्षका छन् । सुरेश पहिलो पटक रियालिटी शोमा सहभागी भएका हुन् । अडिसन राउण्डमा पनि तहल्का मच्चाएका उनलाई निर्णायकहरुले कम्तिमा पनि उत्कृष्ट २० सम्म पुग्न सक्ने क्षमता देखेको बताएका थिए । काठमाडौंको गोकर्णेश्वर ३ तारेभिरमा आमा राममाया र बुवा साइलाबाट जन्मिएका सुरेशले सानै उमेरदेखि गीत गाउन थालेका हुन् । १० बर्षकै उमेरदेखि गीत गुन्गुनाउन थालेको सुरेशले औपचारिक रुपमा संगीत भने सिक्न पाएनन् । सानो छँदा गुम्बामै बसेर खाना पकाउने काम गरेको अनुभव उनीसँग छ । गुम्बामै बसेको समयमा उनले गायिका आनी छोईङ डोल्मालाई नजिकबाट चिन्ने मौका पाएका थिए । गायक रामकृष्ण ढकालको गीतहरु सुन्न रुचाउने र गुनगुनाउने सुरेशलाई राम्रो गीत गाएको भन्दै आनीले प्रशंसा गर्ने गर्थे । उनलाई आनीले नै संगीतकार न्यु बज्राचार्यसँग भेटाईदिएका थिए । केही समय संगीतकार बज्रचार्यसँगै काम गर्ने मौका पाएका उनी संगीतकार न्यू बज्राचार्य र गायिका आनी छोईङ डोल्माबाट निक्कै प्रभावित छन् ।
साथै गायिका आनी छोईङ डोल्मा पनि उनको आवाजको प्रशंसक हुन् । सुरेशलाई सानैमा उनका आमा र बुवाले गायक बनाउने सपना देखेका थिए । तर उनीहरुले त्यो सपना पुरा भएको भने हेर्न पाएनन् । जीवनयात्राकै क्रममा बैदेशिक रोजगारको लागि मलेसिया पुगेको समयमै सुरेशले आफ्ना आमा बुवालाई गुमाउनु परेको थियो । विदेशको गएको ६ महिनामै आमा गुमाएका उनले त्यसको एकवर्षपछि बुवा पनि गुमाएका हुन् ।