पठाओ चालक काठमार्डाैंका चोक चोकमा

नेपालमा राइड सेयरिङ एप पठाओको क्रेज ह्वातै बढेसँगै काठमाडौंका सडकभरी पठाओ राइडरको बाक्लो चहलपहल देखिन थालेको छ। हाल कम्पनीले कोरोना भाइरसबाट बच्न राइडरहरुलाई पीपीइ र रातो ज्याकेट दिएको छ।

सोहि कपडामा पठाओ चालक काठमार्डाैंका चोक चोकमा देखिन्छन्। पछिल्लो समय राइड सेयरिङ कम्पनी पठाओ लोकप्रिय बन्दै गएको छ।
राइडरहरुलाई सोचे भन्दा बढी आम्दानी हुने र यात्रुलाई पनि भनेको समयमा गन्तब्यमा पुग्न सकिने भएकाले पठाओ भरपर्दो माध्यम बन्न पुगेको छ।

तर, केहि महिनादेखि काठमाडौंका सडकमा पठाओ चालक धेरै भएको र यात्रु पाउन कठिन रहेको राइडरहरु नै बताउँदै आएका छन्। पठाओको राइडर एक पठाओ ड्राइभ अहिलेसम्म १ मिलियन चालक जोडिइसकेका छन भने ५ मिलियन यात्रु जोडिएका छन्।

अर्को प्रतिस्पर्धि कम्पनी टुटलमा भने एक लाख मात्रै यात्रु ग्राहक जोडिएको गुगल प्ले स्टोरको तथ्याङ्कले देखाएको छ। पछिल्लो समय पार्टटाइम जवको लागि पनि राइड सेयरिङ भरपर्दो माध्यम बनेको छ। सरकारी तथा निजी कार्यालयमा काम गर्ने कर्मचारी पनि फुर्सद निकालेर पठाओमा जोडिने गरेका छन्। आम्दानीको स्रोत भएपछि विशेष गरी दुईपाग्रे सवारी भएका युवा तथा जोकोही पनि यो सेवामा जोडिन पुग्ने गरेका छन्।

गत हप्ता मात्रै एक अपाङ्ग बृद्ध आफ्नो स्कुटरको सहाराले राइड सेयरिङ गरिरहेको तस्विर भाइरल भयो। टुटल, पठाओ जस्ता राइड सेयरिङ एप यति वेला सहारा जस्तै बनेको कम्पनीले बताउँदै आएको छ।

तर, राइडरहरु धेरै भएका कारण पछिल्लो समय विकृती समेत बढेको राइडरहरु आफै स्वीकार्छन्। खराब राइडरको बदमासीको कारण सज्जन र श्रमजीबीलाई असर परिरहेको छ। अझ भनौं बेलुकी ८ बजेपछि सडकैभरी पठाओको राइडर बाहेक अरु केही पनि देखिदैनन्।

विगत ६ महिनादेखि पठाओसँग जोडिएका बागबजार बस्ने बिष्णु काफ्ले आफ्नो रोजीरोटिको माध्यम नै पठाओलाई बनाएका छन्। उनी बिहान ७ बजेदेखि बेलुकी १० बजेसम्म खटिन्छन्। काफ्ले भन्छन् ‘काठमाडौंमा खान बस्न र पढ्न कसैसँग हात थाप्नु परेको छैन। अागामी दिनमा पनि यहि पेसालाई निरन्तरता दिने प्रयासमा छु’।

राइड सेयरिङ कम्पनीले राइडर मार्फत २० प्रतिशत सेवा बापतको रकम काट्ने गरेका छन्। काफ्लेका अनुसार मासिक औसत ३० देखि ४० हजार पठाओ मार्फत नै कमाउन सकिन्छ।

पछिल्लो समय राइड सेयरिङ कम्पनीबीच पनि चर्को प्रतिस्पर्धा हुन थालेको छ। झन्डै आधा दर्जन कम्पनी यस्तो सेवा दिन लागि परेका छन्। तर, भरपर्दो सेवाका लागि भने टुटल र पठाओकै एकाधिकार छ।