अदुवाबारी जोड्ने पुलको नाम जुराउनेले २५ हजार रुपैया इनाम पाउने

काठमाडौ । बाग्लुङको बाङ्गेचौर र पर्वतको पाङ अदुवाबारी जोड्ने पुलको नाम जुराउनेले २५ हजार रुपैया इनाम पाउने भएको छ । ५६७ मिटर लामो झोलुङ्गे पुल गत साउनदेखि नै सञ्चालनमा छ। तर त्यो पुलको उपयुक्त नाम जुरेको छैन ।

कालीगण्डकी नदीमाथि बनाइएको यो पुलले दुई बस्तीमात्र होइन, बाग्लुङ र पर्वत जिल्लालाई नै जोड्ने गरेको छ।
नगरपालिकाका मेयर जनकराज पौडेल चीनबाट झोलुङ्गे पुलको लठ्ठा तान्ने मेसिन मगाए र पुल बनाएको बताएका छन् । सरकारको ११ करोड रुपैयाँ लागतमा यो पुल निर्माण गरेको हो । यो पुल बाग्लुङ नगरपालिकाले ‘संसारकै लामो झोलुङ्गे पुल’ दाबी गरिरहेको छ।

नगरपालिकाले दिल्लीस्थित ‘गिनिज बुक अफ द वर्ल्ड रेकर्ड’मा सूचीकृत गर्ने पहल पनि गरिरहेको छ । सिङ्गल स्पाममा बनेको यस्तै खालको झोलुङ्गे पुल स्विट्जरल्याण्डमा रहेको आफूले थाहा पाएको मेयर पौडेलले बताएका छन् ।

नगरपालिकाले पुलको नाम राख्न उपसमिति बनाएको छ । बाग्लुङ नगरपालिकाले उपमेयर सुरेन्द्र खड्काको संयोजकत्वमा पुल नामाकरण उपसमिति गठन गरेको छ।

नगरपालिकाले पुलको नामाकरण गर्न यसअघि नै पुलको नामबारे सुझाव मागेको थियो। सर्वसाधारणदेखि विभिन्न क्षेत्रका पदाधिकारीले आ(आफ्नो तर्फबाट नगरपालिकालाई नाम बुझाइसकेका छन्। पुलको नामाकरण भइसकेपछि नाम जुराउनेलाई पुरस्कारको समेत व्यवस्था गरेको छ।

नगरपालिकाले मागेका नाममध्ये एउटा छनोट हुने र उक्त नाम राख्न सुझाव दिने व्यक्तिलाई २५ हजार रुपैयाँ पुरस्कार दिने मेयर पौडेलले बताए। सार्वजनिक सूचना, अनलाइन र नगरपालिकाको कार्यालयमार्फत दर्जन बढी नाम आइसकेको नगरपालिकाले जनाएको छ।