काठमाडौं । महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले आज पदबाट राजीनामा दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको आग्रहअनुसार महान्यायाधिवक्ता खरेलले राजीनामा दिएका हुन् ।
राजीनामापछि खरेल नेकपा एमालेको राजनीतिमा सक्रिय हुने बताइएको छ । विगतमा केन्द्रीय सदस्य भइसकेका खरेल फेरि केन्द्रीय समितिमा मनोनीत भएर काम गर्ने बताइएको छ ।
यसअघि, पहिलो संविधानसभामा समानुपातिक तर्फबाट सभासद भएका खरेल दोस्रो संविधानसभामा मनोनीत सभासद बनेका थिए । संविधान जारी भइसकेपछि रुपान्तरित संसद्बाट ओली प्रधानमन्त्री निर्वाचित भएपछि कानुन, न्याय तथा संसदीय मामिलामन्त्री बनिसकेका खरेल ०७४ को संसद्मा अघिल्लोपटक मनोनीत भएकाहरुलाई नल्याउने नीति एमालेले लिएपछि खरेलको सांसद बन्ने बाटो बन्द भएको थियो । दोस्रो संविधानसभादेखि माधवकुमार नेपालबाट ओली गुटमा प्रवेश गरेका खरेल त्यसपछि महान्यायाधिवक्ता नियुक्त भएका हुन् ।
०७४ साल फागुनमा महान्यायाधिवक्ता नियुक्त खरेलले तीनवर्षे कार्यकाल पूरा गरेर राजीनामा दिएका छन् । सरकार रहँदासम्म महान्यायाधिवक्ताको कार्यकाल रहने भए पनि प्रतिनिधिसभा विघटनपछि खरेलले राजीनामाको इच्छा देखाएका थिए । प्रधानमन्त्री ओलीको कानुनीभन्दा पनि राजनीति बचाउन इच्छुक बनेका खरेलले अबको निर्वाचनमा प्रत्यक्ष निर्वाचन लड्ने इच्छा देखाएका छन् ।