ख्रीष्टियन संस्थाको नाम, छाप र हस्ताक्षरको दुरुपयोग -धार्मिक दबदबाह कायमै

ललितपुर । नेपालमा अहिले पनि धार्मिक दबदबाह कायमै रहेको छ । अल्पसंख्यक समूहलाई ठुला धार्मिक समुहले दबाउने वा विभिन्न प्रयोजित रुपमा बदनाम गराउने कथित धार्मिक समूहको पेशा नै रहेको छ ।

हरेक धर्मले एकले अर्कालाई समान व्यवहार गर्ने र सबै धर्मको सम्मान गर्न सिकाउँछ । तर पछिल्लो समयमा यसको ठिक विपरितमा सामाजिक सञ्जाल प्रयोगकर्ताहरुनै बढि धार्मिक सद्भाव विथोल्न र समाजमा अशान्ति फैलाउन सक्रिय देखिन्छन् ।

यतिखेर नेपाल राष्ट्रिय मण्डली संगति र नेपाल ख्रीष्टयन समाजद्वारा जारी विज्ञप्तिलाई लिएर समाजिक सञ्जाल भरिएको छ भने यता एक संयुक्त विज्ञप्ति जारी गर्दै आफूहरुको कुनै संलग्नता नभएको भन्दै भर्खरै एनसीएफ र एनसीएसका महासचिवहरूले सामाजिक सञ्जालमा उठरेहेको विषयलाई खण्डन गरेको छ ।

मिति २०७६ साल असार ३० गते जारी गरेको बाढीपीडित राहत आह्वानका अक्षरहरूलाई फोटोशपबाट मेटेर दुरुपयोग गरिएको भन्दै एनसीएफ र एनसीएसका महासचिवहरूले संयुक्तरुपमा विज्ञप्ति जारी गर्दै घटनाको विरोध गरेका हुन् । बेग्लै प्रसंगमा प्रकाशित गरिएको आह्वानमा भएका नाम र हस्ताक्षरको दुरुपयोग गरी सामाजिक सद्भाव भड्काउने, नेपाल राष्ट्रिय मण्डली संगति तथा नेपाल ख्रीष्टियन समाज र सिंगो ख्रीष्टियन समुदायलाई बद्नाम गराउने कुचेष्टा स्वरूप हुँदै नभएका कुराहरूलाई हो झैं बनाएर भाइरल बनाउने काम नैतिकता र कानुन विपरीत भएको ख्रीष्टियन समाजका महासचिव डिल्लीराम पौडेलले बताए ।

उनले भने, “हामीलाई बद्नाम गराउनकै लागि कुनै गिरोह वा समूहबाट यस प्रकारको काम गरिएको हो, यो कसले गरेको हो र किन गरेको हो भन्ने कुरा छिट्टै पत्ता लाग्ने छ र सम्बन्धित निकायले त्यस्ता गलत काम गरी एउटा सिंगो समाजको बद्नाम गराउने र समाजमा अराजकता फैलाउनेमाथि छिटोभन्दा छिटो कानुनी कारबाही होस्” ।

संयुक्त विज्ञप्ति सम्बन्धमा

आदरणीय दाजुभाइ तथा दिदीबहिनहरू !

यहाँहरूले भर्खरै सामाजिक सञ्जालहरूमा हाम्रो नाउँ प्रयोग गरी आएको एउटा भ्रामक विज्ञप्ति पढ्नुभएकै होला । सो कुरा सरासर झुटो र कपोलकल्पित भएको जानकारी गराउन चाहन्छौं । उक्त विज्ञप्तिमा उल्लेख गरिएका कुराहरूका बारेमा हामीलाई केही पनि थाहा छैन र यसमा हाम्रो कुनै संलग्नता नै छैन ।

नेपाल राष्ट्रिय मण्डली संगति तथा नेपाल क्रिश्चियन समाज र सिंगो ख्रीष्टियन समुदायलाई बद्नाम गराउने कुचेष्टा स्वरूप यो काम गरिएको छ । यो जो जसले गरेको भए पनि एकदमै निन्दनीय छ र यस प्रकारका बदनियतपूर्ण कार्यको हामी घोर भत्सर्ना गर्दछौं ।

नेपाल राष्ट्रिय मण्डली संगति र क्रिश्चियन समाजको केन्द्रीय समितिमा यस्ता नचाहिने र अनावश्यक कुराहरूका सम्बन्धमा कहिल्यै पनि छलफल, कुराकानी र बहस भएको छैन ।

हामीले विगत लामो समयदेखि संयुक्त रूपमा कुनै प्रकारको विज्ञप्ति निकालेका पनि छैनौं र विज्ञप्ति निकाल्दा हामीले महासचिवका नामहरू प्राय: प्रयोग गर्ने गरेका छैनौं ।

हामीलाई बद्नाम गराउनकै लागि कुनै गिरोह वा समूहबाट यस प्रकारको काम गरिएको हो । यो कसले गरेको हो र किन गरेको हो भन्ने कुरा छिट्टै पत्ता लाग्ने छ र सम्बन्धित निकायले त्यस्ता गलत काम गरी एउटा सिंगो समाजको बद्नाम गराउने र समाजमा अराजकता फैलाउनेमाथि छिटोभन्दा छिटो कानुनी कारबाही गरोस् भनी सम्बन्धित निकायको ध्यानाकर्षण गराउन चाहन्छौं ।

ढिलो चाँडो सत्य कुरा बाहिर आउने नै छ र हाम्रो नाम, सही र छाप प्रयोग गरेर हामीलाई बद्नाम गराउने गिरोहको पर्दाफास हुने छ र यस प्रकारका भ्रमको खेती गर्नेहरूको असली अनुहार सबै नेपालीले छर्लङ्गै देख्ने छन् अनि त्यस्ताहरूलाई नेपाल सरकारले विद्यमान कानुनअनुसार साइबर क्राइम गरेकोमा कडाभन्दा कडा कारबाही गर्ने छ भन्ने हाम्रो विश्वास छ । यसका लागि सम्बन्धित पक्षलाई हाम्रो पूर्ण साथसहयोग रहने छ । अहिलेको यस भ्रमपूर्ण समाचारप्रति सबै जना सजग र सतर्क रहनुहोला ।

नेपाल राष्ट्रिय मण्डली संगति, नेपाल ख्रीष्टियन समाजका सम्पूर्ण पदाधिकारीज्यूहरू तथा सम्पूर्ण ख्रीष्टियन समुदायलाई कुनै प्रकारको भ्रममा नपर्न र अहिले मिडियामा आएको भ्रामक समाचारलाई विश्वास नगर्न हार्दिक अनुरोध गर्न चाहन्छौं । धन्यवाद ।

शेरबहादुर ए.सी. महासचिव, एन.सी.एफ.एन.
डिल्लीराम पौडेल महासचिव, एन.सी. एस.