म्याग्दीको दुर्गम गाउँ गुर्जामा थ्रिजी सेवा

११ बैशाख, बाग्लुङ। ‘टुप्पीभन्दा माथि ठाउँ छैन, गुर्जाभन्दा माथि गाउँ छैन’ भन्ने उक्तिलेसमेत चिनिने म्याग्दीको दुर्गम गाउँ गुर्जामा थ्रिजी सेवा पुगेको छ ।

सदरमुकाम बेनीदेखि २६ कोष पश्चिममा अवस्थित सो गाउँमा पुरानो भिस्याट प्रविधि प्रतिस्थापन गरी बिहीबारदेखि रेडियो लिङ्कमार्फत थ्रिजी सेवा शुरु गरिएको हो ।

यसअघि भिस्याटबाट चल्ने टुजी सेवा प्रभावहीन थियो । मोबाइलको भ्वाइस सेवा पनि स्तरीय थिएन । धौलागिरि गाउँपालिका–१ मा पर्ने गुर्जा गाउँका बासिन्दा भरपर्दो सञ्चार सेवाबाट वञ्चित थिए ।

नेपाल टेलिकमले रेडियो लिङ्क जडान गरेसँगै मोबाइल र तीव्र गतिको इन्टरनेट सेवा पुगेको हो । पहिलोपटक इन्टरनेट चलाउन प्रयोग हुने थ्रिजी सेवा सञ्चालनमा आएपछि गुर्जावासी खुशी छन् ।

विसं २०७१ मा भिस्याट प्रविधिमार्फत मोबाइल सेवा पुगे पनि त्यसको क्षमता सीमित थियो । घाम लाग्दा मात्र नेटवर्क आउने स्थिति थियो ।
अब त्यो समस्या सधैँका लागि अन्त्य भएको छ ।