काठमाण्डौ – पुनर्निर्माण सम्पन्न भएको ऐतिहासिक धरहरामा बुधवार गजुर राखिएको छ । नेपाली सेनाले विगुल फुकी, मङ्गल धुन र स्वस्तिक वाचनसहित बिहान ८ः०० बजेको शुभ साइतमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी अधिकृत सुशील ज्ञवालीसहितको सहभागितामा गजुर राखिएको हो ।
उक्त गजुर ३३० किलोको छ। गजुर तामाबाट बनेको छ भने बाहिरी आवरण सुनले लेपन गरिएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका सम्पदा विज्ञ राजुमान मानन्धरले जानकारी दिए । उनले भने धरहराको टुप्पामा ३३० किलोको सुनको जलप लगाएको गजुर राखिएको छ, त्यसमा ९५ तोला तीन लाल सुन छ ।
गजुरसँगै धरहराको २२औं तलामा पुरानै शिवलिंग विशेष पूजा गरेर स्थापना गरिएको छ । पुनर्निर्माण कार्य जारी नयाँ धरहराको प्रधानमन्त्री केपी शर्मा ओलीबाट आगामी ११ वैशाखमा उद्घाटन हुँदै छ । भत्किएको धरहरा संरचना करिब तयार भए पनि पार्किङ र बगैंचातर्फको काम भने सकिएको छैन । भूकम्प गएको दिनभन्दा एक दिनअघि ११ वैशाखमा धरहरा उद्घाटन गरिए पनि सर्वसाधारणले चढ्न भने अझै लामै समय कुर्नुपर्नेछ ।
विसं २०७२ को विनाशकारी भूकम्पबाट धरहरालगायत ऐतिहासिक सम्पदा ध्वस्त भएका थिए । भूकम्प गएको तीन वर्षपछि मात्रै यस सम्पदाको पुनर्निर्माणको कामले गति लिएको हो । गोरखाको बारपाक केन्द्रविन्दु भूकम्पले ढलेको धरहरा पुनर्निर्माणको प्रधानमन्त्री ओलीले नै विधिवत् रूपमा २०७५ पुस १२ गते उद्घाटन गर्नुभएको हो ।