नेपालमा हालसम्म दुई लाख ९७ हजार ८७ संक्रमित

काठमाडौं । नेपालमा कोरोनाभाइरसका सात हजार ३८८ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो चौबीस घण्टामा १६ हजार ६५८ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा सात हजार ३८८ जनामा सङ्क्रमणको पुष्टि भएको जनाएको छ । यो अहिले सम्मकै सर्वाधिक बढी हो ।

यस्तै, गत २४ घण्टामा ५१८ जनाको एन्टिजेन परीक्षण गर्दा ६० जनामा कोरोना संक्रमण संकेत (एन्टिजेन पोजेटिभ) देखिएको मन्त्रालयले जानकारी दिएको छ।

गत २४ घण्टामा आरटी–पीसीआर र एन्टिजेन परीक्षणबाट गरी ७ हजार ४४८ जना कोरोना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

यस्तै, कोरोना भाइरसको संक्रमणबाट गत २४ घण्टामा ३७ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ। योसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ३६२ पुगेको छ।

भारतमा २० सहित २३ नेपालीको मृत्युः९३ प्रतिशत सङ्क्रमणमुक्त

गत साता भारतमा २० सहित विदेशस्थित २३ जनाको नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघका अनुसार भारतलगायत विभिन्न मुलुकमा बढ्दै गएको कोरोना भाइरस महामारीको प्रकोपका कारण मृत्युदर बढेको हो ।

संघको स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाअनुसार गत साता भारतमा २०, कुवेतमा दुई र कतारमा एक नेपालीको कोरोनाका कारण निधन भएको हो । भारतको नयाँ दिल्लीमा कार्यरत स्वास्थ्य समितिका सदस्य तथा अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्समा कार्यरत डा सागर पौडेलका अनुसार नयाँ दिल्लीमा १० र भारतका अन्य क्षेत्रमा थप १० गरी कूल २० नेपालीको निधन भएको हो । निधन हुनेमा अधिकांश ५० वर्षभन्दा मुनिका छन् । यससँगै हालसम्म विश्वका २१ मुलुकमा संक्रमणका कारण ३७२ नेपालीको निधन भएको छ । हालसम्म मृत्यु भएकामध्ये २४५ जना मध्यपूर्वका छन् ।

अहिलेसम्म विश्वका ५४ मुलुकमा कोभिड १९ का कारण संक्रमित हुने नेपाली ६८ हजार ५०६ जना पुगेका छन् । कुल संक्रमितमध्ये ९४ दशमलव ६ प्रतिशत अर्थात् ६४ हजार ७४४ संक्रमणमुक्त भएका छन् । गत साता भारत, कुवेत, कतार, युएई, रोमानिया, रुस, फिनल्याण्ड, डेनमार्क, चेक रिपब्लिक र पोल्याण्डमा रहेका नेपालीमा थप कोरोना भाइरसको संक्रमण देखिएको कोभिड १९ उच्चस्तरीय समिति गैरआवासीय नेपाली संघका प्रेस संयोजक चिरन शर्माले जानकारी दिनुभयो ।

यसैबीच नेपालमा हालसम्म दुई लाख ९७ हजार ८७ संक्रमित पुगेकामा ९३ दशमलव ३ प्रतिशत अर्थात् दुई लाख ७७ हजार १२३ संक्रमणमुक्त भएका छन् । संक्रमणका कारण शनिबार सांँझसम्म तीन हजार १३६ जनाको निधन भएको छ ।

पछिल्लो एक वर्षमा सबैभन्दा बढी मेमा ६८, सेप्टेम्बरमा ६५ र अगष्टमा ३६ नेपालीको निधन भएको थियो । यो वर्ष शुरु भएपछि भने यही अप्रिलमा २३ नेपालीको निधन भएको स्वास्थ्य समितिले जनाएको छ । गत वर्ष जुन, जुलाई, डिसेम्बर र यस वर्ष जनवरीमा सबैभन्दा धेरै नेपाली कोरोना संक्रमणबाट मुक्त भएका थिए ।

यसैबीच गत सोमबार वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै स्वास्थ्य समितिका संयोजक डा सापकोटाले महामारीका दौरान २५० चिकित्सक र नर्स परिचालन गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार नेपाल बाहिर करीब पाँच हजार चिकित्सक र पन्ध्र हजार नर्स नेपाली छन् । ती सबै स्वास्थ्यकर्मीलाई एनआरएनमा जोड्ने प्रयास भइरहेको उहाँले बताउनुभयो ।