नयाँ रणनीतिमा लागे

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने सार्वजनिक घोषणा पछि फेरी एक पटक राजनीतिक माहौल तातेको छ । जनता समाजवादी पार्टी अनौपचारीक रुपमा विभाजन भएको छ भने नेकपा एमालेको माधव नेपाल पक्ष पनि दोधारमा छन् । उनीहरु गर वा म र को अवस्थामा छन् । यस्तो अवस्थामा नेपाली कांग्रेस र नेकपा माओवादीले पनि छलफललाई तिब्र पारेको छ ।

ओलीको विश्वासको मत लिने घोषणा पछि छलफल तिब्र पारेको एमालेको माधव समुहले विभिन्न विकल्पमा कुराकानी गरेका छन् । यता विभाजनको संघारमा पुगेको जसपाका नेता उपेन्द्र यादवको निवासमा गोप्य बैठक सुरु भएको छ । ओलीको विकल्प खोज्ने नेताहरु उनको निवासमा बैठक गर्न पुगेका हुन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमालेका नेता माधवकुमार नेपाल छलफलमा जुटेका छन्। प्रधानमन्त्री ओलीले प्रतिनिधि सभामा वैशाख २७ गते लिने विश्वासमतलाई कसरी फेल गराउने विषयमा रणनीति बनाउन नेताहरुको बीचमा छलफल भएको खुमलटार स्रोतले जनाएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्‍वासको मत लिने निर्णय गरेलगत्तै नेकपा ​माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजनीतिक भेटवार्ता तीव्र पारेका छन्। संसद बैठक आह्वान भएपछि कांग्रेस सभापति शेरबहादुर देउवा र प्रचण्डबीच टेलिफोनमा छलफल भएको थियो।

कांग्रेस र माओवादीले जसपा र एमालेभित्रको विद्रोही समूहको समेत लिएर अविश्‍वास प्रस्ताव ल्याउने तयारीमा जुटिरहेका बेला ओलीले चालेको यो कदमपछि उनीहरू नयाँ रणनीतिमा लागेका छन्।

ओलीलाई अल्पमतमा पार्न मंगलबार नेकपा ​माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो। बुधबार बिहान संसद सचिवालयमा पत्र बुझाउँदै माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन औपचारिकरुपमा फिर्ता लिएको छ। भने प्रचण्ड राजनीतिक भेटघाटमा व्यस्त छन्।