पछिल्लो २४ घण्टामा देशभर थप ९४८३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ९४८३ संक्रमित थपिएसँगै नेपालमा सक्रिय कोरोनाका बिरामी ९७ हजार पुगेका हुन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मुलुकभरका विभिन्न प्रयोगशालामा गरिएको २१३१६ पीसीआर र एन्टिजेन परीक्षणका क्रममा मंगलबार थप ९ हजार ४ सय ८३ जनामा कोरोना संक्रमण देखिएको हो।
मन्त्रालयका अनुसार मुलुकभरका ८७ वटा प्रयोगशालाबाट २०५९६ जनाको आरटी–पीसीआर विधिबाट नमूना परीक्षण गरिएको थियो। यस्तै, ७२० जनाको एन्टिजेन परीक्षण गरिएको छ।
यस्तै, पछिल्लो २४ घण्टाको अवधिमा कोरोना भाइरसको संक्रमणबाट २२५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
यो पनि : श्रीमतीको शव व्यवस्थापन आफैँले गर्नु पर्दाको पीडा
कैलालीको भजनी नगरपालिका–१ को हो स्थानीय ४३ वर्षीय महिलाको मङ्गलबार बिहान कोरोना सङ्क्रमणका कारण ज्यान गयो । मृत्युको पीडा त छँदै थियो, त्योसँगै शवको व्यवस्थापनमा कसैले पनि चासो नदेखाउँदा श्रीमानले नै खाल्डो खनेर अन्त्यष्टि गर्नु परेको थियो ।
करीब एक हप्तादेखि भजनी अस्थायी कोभिड अस्पतालमा उपचाररत उनको मङ्गलबार बिहान ३ बजेतिर मृत्यु भएको थियो । मृत्युपछि उनको शव व्यवस्थापन गर्न कोही अघि सरेनन् । नगरपालिकाको टिप्परले शव भजनी नगरपालिका३ मा रहेका कान्द्रा नदी किनारमा छाडेर गयो त्यसपछि मृतकका श्रीमान् आफैँले शव व्यवस्थापन गर्नु भएको थियो । कसैले खाल्डो खन्ने उपकरण समेत नदिएपछि उहाँले घरबाटै लिएर जानु परेको थियो ।
भजनी नगरपालिकामा कोरोना सङ्क्रमितको शव व्यवस्थापनका लागि स्वास्थ्य मापदण्ड पालना गरेर बढीमा २५ जना सहभागी हुने गरी भरपाइ बनाएर अस्थायी कोभिड अस्पतालले आफन्तलाई जिम्मा दिने गरेको छ । त्यसपछि नगरपालिकाले टिप्पर र जेसिबी प्रयोग गरेर शवको व्यवस्थापन गरिरहेको छ ।
शव व्यवस्थापनका लागि खाल्डो खन्न नगरपालिकाले जेसिबी पठाउने गरेता पनि यस पटक जेसिबीको टायर बिग्रेकाले पठाउन नसकिएको नगरप्रमुख शेरबहादुर चौधरीले बताउनुभयो । भजनी नगरपालिकाले स्थापना गरेको १५ शय्याको अस्थायी कोभिड अस्पतालमा स्वास्थ्यकर्मी र उपकरण सँगसँगै अत्यावश्यक खानेपानीको समेत समस्या भइरहेको छ ।