पोखरा । केवल टेलिभिजन प्रदायक संस्था मेगा म्याक्स टिभी प्रालिका संचालक सुशिलकुमार लामाको ५६ वर्षको उमेरमा निधन भएको छ ।
कोरोना देखिएपछि पोखरामा उपचाररत लामाको स्वास्थ्य जटिल बनेपछि थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं लगिएको थियो । धापासीस्थित ग्राण्डी इन्टरनेशनल अस्पतालमा आईसीयूमा उपचारको क्रममा हिजो साँझ साढे ६ बजे उनको निधन भएको हो ।
२५ वर्षभन्दा बढी समयदेखि केवल व्यवसायमा संलग्न भई पोखरा केवल नेटवर्क प्रालिका सह-संस्थापक एवं संचालक थिए । लामाको निधनले केवल नेटवर्क व्यवसायलाई शोकाकुल बनाएको म्याक्स टीभी परिवारले जनाएको छ । रेडियो अन्नपूर्ण पोखराका सञ्चालक लामा ताङ्गवे समाजका अध्यक्षसमेत थिए ।
बाराही स्कुलमा अध्ययन गरी रसियाबाट ईन्जिनियरिङ उत्तीर्ण गरी पश्चिमाञ्चल ईञ्जिनियरिङ क्याम्पस लामाचौरमा शिक्षण पेशामा पनि उनी आबद्ध भएका थिए ।
ग्रिन तङ्गवे लिमिटेडका अध्यक्ष रहेका लामाको जन्म २०२२ मंसिर २ मा कास्कीको पोखरामा भएको हो । उनका श्रीमती र दुई छोरा छन् ।