चितवन निकुञ्जमा साढे २ महिनामै ७ गैडा मरे

चितवन राष्ट्रिय निकुञ्जमा सोमबार दुई वटा एक सिंगे गैडा मृत भेटिएका छन्।चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत अशोक रामले नारायणी नदीले बगाउँदै लगेको गैडा गण्डक ब्यारेजबाट करिब आधा घण्टा बगेपछि मरेको जानकारी दिए।

‘भारतको वाल्मिकी टाइगर रिजर्भका डिएफओ गौरव ओझाले नेपालबाट बगेर गएको गैडा मरेको जानकारी दिनुभएको छ’, रामले भने, ‘मृत गैडाको पोष्टमार्टम पनि वाल्मिकी टाइगर रिजर्भमै गरिएको छ।’

मृत गैडाको भारतीय प्रोटोकलअनुसार सम्पूर्ण भाग जलाउने नीति रहेकोले सोहीअनुसार मृत गैंडाको अन्त्येष्टि गरिने जानकारी प्राप्त भएको उनले बताए।

सोमबार नै चितवन राष्ट्रिय निकुञ्जको सौराहा सेक्टरअन्तर्गतको वनकट्टा वनगछिया भन्ने स्थानको १ नम्बर मचानबाट पूर्वपट्टि बाटोको ढिकमा पनि एउटा गैडा मृत फेला परेको छ।

मरेको अवस्थामा करिव १०/१२ वर्षको भाले गैडा फेला परेको उनले बताए। सो मृत गैडाको प्रकृति हेर्दा गैडाहरु एक आपसमा जुधेर घाइते भई मरेको अनुमान गरिएको छ। उक्त मृत गैडाको पछाडिको खुट्टा मर्किएको अवस्थामा रहेको उनले बताए। गैडाको खाग र खुर सुरक्षित छ।

नारायणी नदीमै बगेको एउटा गैडा यसअघि शनिबार त्रिवेणीमा मृत फेला परेका थियो। चितवन निकुञ्जमा शुक्रबार मात्रै पनि नवलपुर लामिचौरमा रहेको निकुञ्जको पोष्टदेखि तीन किलोमिटर दक्षिणमा निकुञ्जभित्र मृत गैडा फेला परेको थियो।

२०७७ को साउन यतामात्रै चितवन राष्ट्रिय निकुञ्जमा सातवटा गैडा मरेका छन्। ती मध्ये एउटा गैडा सिकारीले मारेको अवस्थामा भेटिएको थियो।