अध्यादेशमार्फत आर्थिक वर्ष २०७८/७९ को बजेट ल्याएको सरकारले दुई पाङ्ग्रे सवारी साधनमा लाग्ने सडक दस्तुरमा अधिकतम १ लाख सम्मको छुटको घोषणा गरेको हो ।
नेपाली बजारमा ४०१ सीसी भन्दा माथिका मोटरसाइकल थोरै मात्र बिक्री भए पनि यस्ता मोटरसाइकल रुचाउने ग्राहकका लागि भने यसले केही राहत दिनेछ । बाइक आयातकर्ता कम्पनीहरुले सिधै १ लाख रुपैयाँ नघटाए पनि आगामी दिनमा यी बाइक किन्दा केही सहुलियत भने अवश्य प्रदान गर्नेछन् । यद्यपि यो छुट भने ४ सय सिसी इन्जिन क्षमता माथिका मोटरसाइकल र विद्युतीय दुई पाङ्ग्रे सवारीमा मात्र गरिएको हो ।
सामान्यतः बिग बाइक भनिने यस्ता बाइकका पारखीहरु पनि नेपालमा प्रशस्तै छन् । २०७७ चैतको अन्तिम सातामा बेनेली ब्रान्डको ७०२ एस बाइक नेपाली बजारमा भित्रियो । यो बाइकको मूल्य नै २५ लाख १५ हजार रुपैयाँ तोकिएको छ । नेपाली बजारमा भित्रिएका बाइक मध्ये २०७७ सालमा भित्रिएको सायद यो नै अन्तिम महंगो बाइक हुन सक्छ । बेनेलीको यस्तै अर्को महंगो बाइक ६००आई हो । यसको मूल्य २३ लाख ५८ हजार रुपैयाँ तोकिएको छ । आगामी दिनमा यी दुवै बाइकको मूल्यमा अब केही परिमार्जन हुन सक्छ ।
नेपाली बजारमा यस्ता महंगा बाइक प्रशस्तै छन् । गत वर्ष नै यामाहाका ३ मोडल भित्रिए । यामाहाको टीम्याक्स स्कुटर सहित एमटी ०९ र आर६ प्रत्येकको मूल्य नै ३५ लाख रुपैयाँ छ । त्यसैगरी होन्डाको सीबीआर ६०० आरआरको मूल्य ३४ लाख ५० हजार र सीबी ४०० को मूल्य २२ लाख ७५ हजार रुपैयाँ छ ।
नेपाली बजारमा बिक्रीका लागि उपलब्ध बाइक मध्ये एमभी अगस्टाका बाइक पनि निकै महंगा छन् । एमभी अगस्टाको ड्रयागस्टर ८००आरआर–पिरेलीको मूल्य ६१ लाख ९० हजार रुपैयाँ तोकिएको छ । एमभी अगस्टाका अन्य बाइक पनि महंगा नै छन् ।
विश्वमै सबैभन्दा महंगो ब्रान्ड मानिने हार्ले डेभिडसनका बाइक समेत नेपाली बजारमा पाउन सकिन्छ । नेपाली बजारमा हाल हार्ले डेभिडसनका स्ट्रिट ७५०, स्ट्रिट रड ७५० र आइरन ८८३ बाइक उपलब्ध छन् । यी बाइकको मूल्य क्रमशः २३ लाख, २७ लाख र ४० लाख रुपैयाँ छ । यद्यपि अब कसैले माग गरेमा मात्र यी बाइक बिक्रीका लागि आयात गरिने बताइएको छ ।
नेपाली बजारमा यतिबेला यी वाहेक डुकाटीले मोन्स्टर, प्यानीगेल भी ४ बाइक बेचिरहेको छ । यी बाहेक अन्य केही कम्पनीले पनि महंगा र ठूला बाइक नेपाल भित्र्याइरहेका छन् । यद्यपि यस्ता महंगा मोटरसाइकलको कर आगामी साउन पश्चात मात्र परिवर्तन हुनेछ । यो भन्दा अगाडि नै नेपाल भित्रिएका बाइक नेपाली बजारमा प्रशस्तै संख्यामा स्टक रहेका हुन सक्छन् । आगामी दिनमा कम्पनीहरुले अहिलेको मूल्यमा परिमार्जन गर्छन् वा गर्दैनन् भन्ने कुरा उनीहरुको व्यापारिक नीतिमा भर पर्नेछ ।