गण्डकी प्रदेशमा डिआइजी दिवेश लोहनीको सरूवा

काठमाडौं । नेपाल प्रहरीका १६ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी)को सरुवा भएको छ । गृह मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट डीआईजीहरुको सरुवा गरेको हो ।

सरुवा सूचीअनुसार केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीको जिम्मेवारी डीआईजी धिरजप्रताप सिंहले पाएका छन् । उनी प्रदेश नम्बर २ प्रहरी कार्यालयको नेतृत्व गरिरहेका थिए ।

हाल सीआईबीमा रहेका डीआईजी सहकुल थापाको प्रहरी प्रधान कार्यालयको प्रदेश समन्वय निर्देशनालयमा सरुवा भएको छ । यस्तै, गण्डकी प्रदेशमा डिआइजी दिवेश लोहनीको सरूवा भएको छ।

गृहले सातवटै प्रदेशका प्रहरी प्रमुख पनि परिवर्तन गरेको छ । प्रदेश १ मा अरुणकुमार वीसी, प्रदेश २ मा उमेश रञ्जितकार, बागमतीमा प्रकाशजंग कार्की र लुम्बिनीमा मुकुन्द आचार्य पठाइएका छन् ।

कर्णालीमा गणेशबहादुर ऐर र सुदूरपश्चिममा पुरुषोत्तम कँडेल पठाइएका छन् ।