कोरोनाको कारण वैदेशिक रोजगारी जाने नेपालीको संख्यामा ठूलो कमी

८ असार, काठमाडौं । कोरोनाको दोस्रो लहरका कारण पनि वैदेशिक रोजगारी जाने नेपाली कामदारको संख्यामा ठूलो कमी आएको छ । कोरोनाको दोस्रो लहर नियन्त्रण गर्न निषेधाज्ञा तथा अन्तरराष्ट्रिय नाका बन्द गरेपछि वैदेशिक रोजगारीमा जाने कामदारको संख्या घटेको हो ।

कोरोना संक्रमणको पहिलो लहरमा पनि बैदेशिक रोजगारीमा जाने नेपाली कामदारको संख्या ह्वात्तै घटेको थियो । २०७६ फागुन ३० देखि असार १८ गतेसम्म त सरकारले श्रम स्वीकृति दिन नै स्थगन गरेको थियो ।
त्यसपछि सरकारले श्रम स्वीकृति दिन शुरू गरेपछि वैदेशिक रोजगारीमा जाने कामदारको संख्या बढ्दै गएको थियो । अहिले कोरोनाको दोस्रो लहर शुरू भएपछि वैदेशिक रोजगारीमा जाने कामदारको संख्या पुनः घटेको छ । गतवर्षको साउनदेखि नै वैदेशिक रोजगारीमा जाने कामदारको संख्या बढ्दो थियो ।

वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार गत साउनमा ३ हजार १५२ जना नेपाली वैदेशिक रोजगारमा गएका थिए । त्यसपछि वैदेशिक रोजगारमा जाने कामदारको संख्या निरन्तर बढ्दै गएको थियो । गत चैतमा आइपुग्दा ३२ हजार १४२ जना नेपाली वैदेशिक रोजगारमा गएका थिए ।

तर, वैशाख यता भने वैदेशिक रोजगारीमा जाने कामदारको संख्या घटेको छ । विभागका अनुसार गत वैशाखमा २४ हजार ३६३ जना नेपाली कामदार वैदेशिक रोजगारमा गएका छन् । जेठमा भने ४ हजार ८६ जना कामदार मात्र वैदेशिक रोजगारमा गएको विभागको तथ्यांक छ ।

कोरोनाको दोस्रो लहर शुरू भएपछि सरकारले गत वैशाख १६ गतेबाट निषेधाज्ञा लगाएको थियो । साथै, वैशाख २३ गतेदेखि अन्तरराष्ट्रिय उडान पनि बन्द गरिएको थियो । यसरी अन्तरराष्ट्रिय उडान बन्द भएपछि वैदेशिक रोजगारीमा जाने कामदारको संख्या घटेको हो ।