रूपा सुनारको विद्रोहमा सबैले साथ दिऔं: डा. भट्टराई

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सञ्चारकर्मी रूपा सुनारले जातीय विभेदविरुद्ध गरेको विद्रोहमा साथ दिन सत्य र न्यायका पक्षधर सबैलाई आह्वान गरेका छन्। समाजमा सबैभन्दा पिँधमा पारिएको दलित समुदायको पनि पिँधमा रहेका महिलाको प्रतिनिधिका रूपमा उनले जातीय भेदभाव र छुवाछूतविरुद्ध आवाज उठाउने साहस गरेको भन्दै उनलाई न्यायप्रेमी सबैले साथ दिनुपर्ने डा. भट्टराईको भनाइ छ।

‘रूपा सुनारलाई व्यक्तिगत रूपमा म चिन्दिनँ,’ बुधबार डा. भट्टराईले सामाजिक सञ्जालमा लखेका छन्, ‘तर नेपाली समाजको सबभन्दा पिँधमा पारिएको दलित समुदायको पनि पिँधमा रहेका महिलाको प्रतिनिधिको रूपमा उनले जातपातजन्य विभेदका विरूद्ध गरेको विद्रोहलाई सबै सत्य र न्यायका पक्षधरहरूले साथ दिनैपर्छ। यसमा कसैले कुनै किन्तुपरन्तु नगरौं!’

यही असार १ गते काठमाडौंको बबरमहलमा भाडामा कोठा हेर्न गएकी रूपा सुनरालाई पहिले कोठा दिने सहमति गरिसकेकी घरधनी सरस्वती प्रधानले पछि उनको जात थाहा पाएपछि बष्हिकार गरेकी थिइन्।