काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरू र प्रधानमन्त्री केपी शर्मा ओली उस्तै–उस्तै नभएको बताएका छन्। आज सम्पादकाहरूसँगको छलफलमा उनले सहजै प्रधानमन्त्री छोड्न आफू र जसरी पनि प्रधानमन्त्री बन्ने ओली उस्तै हुन् त भन्दै प्रश्न गरे । उनले आफूहरूभन्दा राम्रा नेता आए छोड्न तयार रहेको पनि बताए ।
प्रचण्डले एमालेका नेता र ओली एउटै पार्टीको भएकाले माधव नेपालले गरेको संघर्ष पेचिलो भएको पनि बताए। नेता नेपाललाई परेको अफ्ठ्यारोमा साथ दिने पनि उनले बताए। त्यस्तै जसपाका अध्यक्ष उपेन्द्र यादवलाई सामूहिक ढङ्गबाट सहयोग गर्ने बताए। विपक्षी गठबन्धन प्रधानमन्त्रीलाई हटाउनका लागि मात्रै नभएको उनको भनाइ छ । उनले संविधान बनाउने र भत्काउने पात्र उस्तै नभएको पनि बताए ।
‘प्रचण्ड’ले विपक्षी दलहरुको गठबन्धन दीर्घकालीन हुनेमा शंका नगर्न आग्रह गरेका छन् । सम्पादकहरुसंगको अन्तरक्रियामा बोल्दै दाहालले राजनीतिक र सैद्धान्तिक धरातलमा उभिएको गठबन्धन भएकाले लामो समयसम्म सहकार्य हुने बताए। संविधान, लोकतन्त्र, राष्ट्रियता र जनताको पक्षमा उभिन गठबन्धनमा रहेका सबै दलबीच न्यूनतम सहमति बनेको भन्दै अध्यक्ष दाहालले सरकार बनाउन वा एउटा निर्वाचन जित्नका लागि मात्रै गठबन्धन नगरिएको स्पष्ट पारे ।
‘एउटा चुनाव जित्न वा ओली हटाउनका लागि मात्रै नभएर दीर्घकालीन रुपमा संविधान, लोकतन्त्र र राष्ट्रियता जोगाउन गठबन्धन निरन्तर रहन्छ’, दाहालले भने । गठबन्धनमा रहेका दलमध्ये नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र राष्ट्रिय जन मोर्चामा आन्तरिक राजनीतिक समस्या नरहेको भन्दै दाहालले विद्रोहको झण्डा बोक्ने एमालेका माधव नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादवका समस्या पनि गठबन्धनको साझा हुने बताए ।
‘कांग्रेस, जनमोर्चा र हामीमा समस्या छैन । माधवजी र उपेन्द्रजीहरुलाई परेको अप्ठ्याराहरुमा हामी संगै छौं। त्यसलाई गठबन्धनले साझा रुपमा लिन्छ’, दाहालले भने । नेपालको भूराजनीतिक जटिलताका कारण यसको आफ्नै समस्या भएपनि राष्ट्रको स्वतन्त्रता र सार्वभौमसत्ता रक्षा गठबन्धनको साझा एजेण्डा रहेको बताए ।
प्रधानमन्त्री केपी ओलीले दक्षिणपन्थी शक्तिसंग मिलेर वामपन्थी सिध्याउन लागेको आरोप लगाएको भन्दै दाहालले प्रतिवाद गरे । ‘कांग्रेस संविधान र लोकतन्त्र बचाउन हिडेको छ । केपी ओली संविधान र लोकतन्त्र सिध्याउन हिड्नुभएको छ। कांग्रेसले ओलीजीलाई विदेशीको टाङमुनि छिरेको आरोप लगाएको छ । ओलीजी विदेशी दलालको टाङमुनि नै हुनुहुन्छ । त्यसैले कांग्रेस दक्षिणपन्थी होइन, ओलीजी वामपन्थी होइन’, उनले भने ।