जनजनलाई रुखबिरुवा र प्रकृति संरक्षणबारे सचेत र सजग गराउने अभियान सञ्चालन

काठमाडौ । । महामारीका कारण विद्यालय नखुलेको समयमा जिल्लाको बर्दिबास नगरपालिका–९ पशुपतिनगरस्थित राष्ट्रिय माध्यमिक विद्यालय बनरझुल्लाका विद्यार्थीले ‘एक विद्यार्थी, एक रुख’ अभियान सञ्चालन गरेका छन् ।

चुरे संरक्षणको विषय र वनजङ्गलको कुरा जोडिएर जताततै बहस बढिरहेका बेला प्रत्येक विद्यार्थीले आफ्नो घरआँगनमा कमसेकम एउटा फलपूmलको बिरुवा रोपेर हुर्काउनै पर्ने ‘एक विद्यार्थी, एक रुख’ अभियान सञ्चालन गरेका हुन् । विद्यार्थीको यो अभियानमा जनसहयोगी युवा सञ्जाल बर्दिबासले डिभिजन वन कार्यालय महोत्तरीसँग समन्वय गरेर फलफूलका बिरुवा उपलब्ध गराएको छ ।

असारको दोस्रो साता प्रारम्भसँगै पशुपतिनगरका प्रत्येकजसो घरआँगन र करेसाबारीमा सञ्चालन गरिएको यो अभियानअन्तर्गत पहिलो चरणमा ५०० बिरुवा रोपिएका छन् । अहिले आँप, लिचीलगायतका बिरुवा रोपिएका विद्यालयका प्रधानाध्यापक हरिदेव महतोले बताउनुभयो । चुनौती बन्दै गएको चुरे र वन संरक्षणको मुद्दामा विद्यार्थीको यो अभियानसँगै नयाँ विषयले प्रवेश पाउने विद्यालय नजिकैका बासिन्दा तथा अभिभावक अमृतकुमार महतो बताउनुहुन्छ ।

“अभियानको अभिष्ट विद्यार्थीले एउटा बिरुवा रोपेर हुर्काउनुमा मात्र सीमित छैन”, विद्यालयको भौतिक र शैक्षिक अभियानमा जोडिँदै आउनुभएका महतोले भन्नुभयो, “जनजनलाई रुखबिरुवा र प्रकृति संरक्षणबारे सचेत र सजग गराउने पनि अभियानको उद्देश्य छ ।”