१८ असार, काठमाडौं । बिहीबारबाट आन्तरिक व्यावसायिक उडान सुचारु भएको छ । कोभिड–१९को दोश्रो लहरको रोकथाम तथा नियन्त्रणको लागि सरकारले वैशाख २० गते मध्यरातबाट बन्द गरेको आन्तरिक उडान ६८ दिनपछि बिहीबारबाट नियमित उडान सुरु भएको हो ।
नागरिक उड्डयन प्राधिकरणले बुधबार असार १७ देखि साउन १६ गतेसम्मको लागि आन्तरिक उडान तालिका सार्वजनिक गरेको थियो । सोही तालिका अनुसार बिहीबारबाट उडान सुचारु भएको हो । बिहान ६ बजेबाट वेलुका ६ बजेसम्म हुने उडानका लागि प्राधिकरणले ६ वायुयान कम्पनीका लागि दैनिक ६७ उडान तालिका सार्वजनिक गरेको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार काठमाडौंबाट बुद्ध एयरले ३१, यति एयरलाइन्सले १५, श्री एयरलाइन्सले १० सौर्य ३ तथा सीता, समिट र तारा एयरले ८÷८ उडान अनुमति पाएका छन् । यात्रुको चाप रहेको सुगमका गन्तव्यमा उडान संख्या बढी रहेको छ भने दुर्गमका गन्तव्यमा उडान संख्या कम रहेको जनाइएको छ ।
यात्रुको चाप हेरेर उडान संख्या निर्धारण हुने वायुयान कम्पनीहरुले जनाएका छन् । संक्रमण जोखिम रहेकाले गर्दा र सरकारको निर्देशन बमोजिम सामान्यमा हुने उडानमा भन्दा हाल उडान संख्यामा ५० प्रतिशत कम गरिएको छ । उडानमा कोभिड–१९को रोकथामको लागि सरकारले जारी गरेको स्वास्थ्य सुरक्षाको सबै मापदण्ड पालन गर्न अनिवार्य गरिएको छ ।
बिहीबार विभिन्न वायुयानका लागि ५९ उडान भर्ने तालिका भएपनि मौसमका कारण ५१ उडान भएको त्रिभुवन अनतर्राष्ट्रिय विमानस्थल अन्तर्गतको आन्तरिक टर्मिनलले जनाएको छ । जसमा बिहीबार ५ हजार ६ सय १ यात्रुले हवाई यात्रा गरेको विमानस्थलले जनाएको छ ।