१८ असार, तनहुँ । गत मङ्गलबार साँझदेखि परेको अविरल वर्षाका कारण पहिरो खस्दा शुक्रबार बिहान दुई जनाको जीवितै उद्धार गरिएको छ । जिल्लाको भानु नगरपालिका–८ गैह्रीफाँट डुम्रे–बेँसी सडकखण्डअन्तर्गत जिल्ला लमजुङ बेँसीशहर नगरपालिका–१० बस्ने २४ वर्षीय सरोज रिमाल र सोही ठाउँ निवासी ३५ वर्षीय सुनिल रावत घाइते भएका हुन् ।
बिहान अन्दाजी पाँच बजेको समयमा घरमाथिबाट खसेको पहिराले पुरिँदा सरोज रिमाल गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिए । घाइते दुवैको लमजुङ अस्पतालमा उपचारको लागि पठाइएको छ ।
पहिरामा परी १९ बाख्रा, दुई भैँसी मरे
गत मङ्गलबारदेखि परेको अविरल वर्षाका कारण पहिराले पुरिएर तनहुँमा १९ बाख्रा र दुई भैँसी मरेका छन् । पहिरामा परी दुई घरपरिवारका बाख्रा भैँसी मरेका हुन् । जिल्लाको शुक्लागण्डकी नगरपालिका–९ ढोरफिर्दी निवासी टेकबहादुर महतको गोठमाथिबाट आएको पहिराले १० बाख्रा र एक भैँसी मरेको छ ।
त्यसैगरी सोही वडास्थित चेतबहादुर भुजेलको घर माथिबाट आएको पहिराले नौ बाख्रा र एक भैँसी पुरिएको जिल्ला प्रशासन कार्यालय तनहुँले जनाएको छ । पहिराले पुरिएका ५५ वर्षीय खगिमाया भुजेल र १४ वर्षीय विज्ञान भुजेललाई जीवितै उद्धार गरिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिनुभयो । उनीहरूको अहिले पोखरास्थित गण्डकी मेडिकल अस्पतालमा उपचार भइरहेको छ ।
पृथ्वीराजमार्ग खुलाइ पनि डुम्रे–बेँसीशहर र खैरेनी–भिमाद खण्डमा पहिरो अवरुद्ध भएपछि हटाउने प्रयास भइरहेको उनले बताए । बन्दीपुर गाउँपालिका–३ तामुङमा पहिराले दुई जनाको मृत्यु भएको छ ।
पहिरामा परी एक गम्भीरसहित तीन जना घाइते भएको प्रहरीले जनाएको छ । पहिराबाट सोही जडाका करिब ३० वर्षीय सरस्वती थापा र ७० वर्षीया हरिमाया बसेलको निधन भएको हो । उनीहरूको घटनास्थलमै मृत्यु भएको वडासदस्य हर्कबहादुर थापाले जानकारी दिए । सरस्वती थापाका ससुरा, सासु र देवर घाइते भएका छन् ।