रूपा सुनारविरूद्ध भ्रामक समाचार लेख्ने ६ वटा अनलाइन बन्द

प्रेस काउन्सिल नेपालले रूपा सुनारविरूद्ध भ्रामक समाचार लेख्ने ६ वटा अनलाइन बन्द गराउन नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्राचार गरेको छ।

काउन्सिलले मंगलबार नेपालभित्र उक्त अनलाइन प्रकाशन/प्रशारण हुन नसक्ने गरी प्रबन्ध मिलाउन भन्दै पत्राचार गरेको हो। काउन्सिलले खबरमाला, कालापानी पोष्ट, मिडियाट्वान्टी पोष्ट, ग्यालेक्सी सेभेन एक्सप्रेस, आजको नयाँ, साझा मिडिया डटकमलाई बन्द गराउन भनेको छ।school
आफूविरूद्ध अफवाह फैलाएको भन्दै सुनारले काउन्सिलमा ९ मिडियाविरूद्ध उजुरी दिएकी थिइन्। सो उजुरी आइतबार दर्ता भएको थियो।

ती अनलाइनले अफवाह फैलाइ जातजाति, धर्म वा सम्प्रदायबीचको सु-सम्बन्धमा खलल पुर्‍याउने र जातीय छुवाछुत एवम् लैंगिक भेदभावलाई दुरूत्साहन गरेको निवेदनमा उल्लेख थियो।

जातीय दुर्व्यवहारको विरोध गर्दा युरोपियन युनियनबाट उचालिएको, पैसा खाएकोलगायत भ्रामक सूचनासहित अफवाह फैलाइएको सुनारले उल्लेख गरेकी थिइन्।

कोठा खोज्न जाँदा थरकै कारण घरबेटीले कोठा नदिएको भन्दै उनले सरस्वती प्रधानविरूद्ध उजुरी दिएकी थिइन्। घरबेटी प्रधान रिहा भइसकेकी छिन्।