अष्ट्रेलियाको एउटा शहरमा भने अचम्मको कर्फ्यु

एजेन्सी । नेपालमा पनि कहिले काँही कर्फ्यु’ लगाइन्छ । सुरक्षा खतरा देखिएको अवस्थामा सामान्य बनाउन केही समयका लागि कर्फ्यु’ लगाउने नियम छ । तर अष्ट्रेलियाको एउटा शहरमा भने अचम्मको कर्फ्यु’ लागू भएको छ । जसलाई बिरालो कर्फ्यु’ भनिएको छ । भिक्टोरियास्थित नक्स शहरको नगर परिषदले आगामी अक्टोबर १ देखि लागू हुने गरी बिरालो कर्फ्यु लगाउने निर्णय गरेको छ ।

जस अनुसार कफ्र्युको समयमा स्थानीय बासिन्दाहरुले आफ्नो घरपालुवा बिरालोलाई आफ्नै घरभित्र राख्नुपर्नेछ र बाहिर निकाल्न पाइने छैन । बिरालोलाई बाहिर निस्कने वातावरण बनाउन समेत पाइने छैन । यो बिरालो र उ जस्तै अन्य घरपालुवा जनावरको सुरक्षाका लागि यस्तो नियम लगाइएको बताइएको छ । बिरालो बाहिर निस्कदा उसलाई पनि जोखिम हुने र उसका कारण अन्य जनावर पनि जोखिममा पर्ने भएकाले यस्तो नियम लागू गरिएको हो ।

नक्स नगर परिषदकी मेयर लिसा कूपरका अनुसार बिरालो तथा स्थानीय वन्यजन्तुको संरक्षणका लागि २४ घण्टे बिरालो कर्फ्युको नियम ल्याइएको बताइन् ।

कुकुर तथा अन्य घरपालुवा जनावरजस्तै बिरालोहरु पनि अब आफ्नो मालिकको घर बाहिर स्वतन्त्र रुपमा एक्लै डुल्न पाउने छैनन् । मेयरका अनुसार यसरी डुल्न दिनाले बिरालोहरु बिरामी पर्ने र चोटपटक लाग्ने खतरा उच्च हुन्छ । बिरालोलाई घरभित्रै राख्ने वन्यजन्तुको संरक्षण हुनुका साथै बिरालोले छिमेकी तथा उनीहरुका घरपालुवा जनावरहरुलाई दिक्क पार्ने क्रम पनि रोकिन्छ ।

वर्तमान घरपालुवा जनावर व्यवस्थापन योजनाअन्तर्गत उक्त बिरालो कर्फ्युको नियम बनाइएको र यस्तो कर्फ्युलाई ८५ प्रतिशत मानिसले समर्थन गरेको बताइएको छ ।

गतवर्ष उक्त शहरमा सूर्यास्तदेखि सूर्योदयसम्म बिरालोलाई घरभित्रै राख्नुपर्ने गरी कर्फ्यु लगाइएको थियो । त्यो नियमलाई पनि बिरालोधनीहरुले साथ दिएको उनको भनाई छ । बिरालोधनीहरुको सल्लाहमा २४ घण्टे कर्फ्यु’ नियम लागू गरिएको उनले बताएको अन्तराष्ट्रिय समाचारमा उल्लेख छ । उक्त क्षेत्रमा ७ हजार वटा घरपालुवा बिरालो रहेको तथ्यांक नगर परिषदसँग छ । बिरालो कर्फ्यु लगाउने योजनाको वातावरणवादीहरुले पनि समर्थन गरेका छन् ।