बधाई छ प्रधानमन्त्री शेरबहादुर देउवा

प्रधानमन्त्री शेरबहादुर देउवालाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई ज्ञापन गर्दै कार्यकालको सफलताको कामना गर्नुभएको छ । प्रधानमन्त्री देउवाले प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गरेको केही क्षणमै सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री मोदीले आफ्ना नेपाली समकक्षीमा शुभकामना व्यक्त गर्नुभएको हो । सबै क्षेत्रमा बहुआयामिक भारत र नेपालबीचको जनस्तरको प्रगाढ एवं अद्वितीय सम्बन्धलाई अझ सुदृढ तुल्याउन प्रधानमन्त्री देउवासँगको सहकार्यका निम्ति आफू प्रतीक्षारत रहेको बताउनुभएको छ ।

त्यसैबीच प्रधानमन्त्री देउवाले पनि शुभेक्षाका निम्ति प्रधानमन्त्री मोदीप्रति आभार व्यक्त गर्नुभएको छ । सामाजिक सञ्जालबाटै उहाँले दुवै देशबीचको सम्बन्धलाई सबल तुल्याउन प्रधानमन्त्री मोदीसँग निकट सम्पर्कमा रहेर काम गर्ने आफ्नो अभिलाषा प्रकट गर्नुभएको छ ।

त्यस्तै सदनमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताले प्रतिनिधिसभामा आज सम्पन्न मत परिणामले संविधान र लोकतन्त्रको विजय भएको प्रतिक्रिया दिएका छन् । प्रतिनिधिसभाको आजको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेकपा (एमाले) वरिष्ठ नेता माधवकुमार नेपालले आजको परिणामले पटकपटक प्रतिनिधिसभा विघटन गलत भएको पुष्टि गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “संविधानको पक्षमा दलहरूले अभिमत दिनुभएको छ ।”

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले अन्योल र सङ्कटग्रस्त राजनीतिमा सुधार हुने विश्वास व्यक्त गर्नुभयो । त्यसैगरी एमाले नेता गोकुल बाँस्कोटाले सरकार परिवर्तन सामान्य घटना भएको र आगामी दिनमा राजनीतिले लिने गतिका आधारमा टिप्पणी गरिने बताउनुभयो ।